एकलाख ४६ हजार सवारी लाइसेन्समा प्वाल, ३४८ निलम्बन

२०७४ भाद्र ८ गते, बिहीबार

काठमाडौं, ८ भदौ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले पटक–पकट मादकपदार्थ सेवन गरी सवारी साधान चलाउने ३४८ जनाको चालक अनुमतिपत्र (लाइसेन्स) निलम्बन गरेको छ । महाशाखाका प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र खनालले पाँचौँपटकसम्म लाइसेन्समा प्वाल पार्ने र छैटौँपटकमा पनि मादकपदार्थ सेवन गरी सवारी साधान चलाउने चालकको लाइसेन्स निलम्बन गर्ने गरिएको बताए ।
महाशाखाले विस २०६९ मंसिर २२ गतेदेखि मादकपदार्थ सेवन गरी सवारी चलाउने सवारी चालकको लाइसेन्स प्वाल पार्न थालेकामा हालसम्म एकलाख ४६ हजार ४९६ चालकको लाइसेन्स प्वाल पारिसकेको छ । जसमा पहिलोपटक प्वाल पर्ने एकलाख १० हजार २१, दोस्रोपटक २४ हजार ४३७, तेस्रोपटक सातहजार ९५४, चौथोपटक दुईहजार ७५३ र पाँचौँपटक ९७८ जना सवारी चालक पुगेका छन् ।
महाशाखाले आर्थिक वर्ष २०६९/७० मा २२ हजार २७२, २०७०/७१ मा ४८ हजार ६६९, २०७१/७२ मा ३१ हजार ८२४, २०७२/७३ मा २४ हजार १०२ र २०७३/७४ मा १९ हजार ६२४ जना सवारी चालकको लाइसेन्समा प्वाल पारेको जनाएको छ । महाशाखाप्रमुख खनालले पछिल्लो समयमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने चालकको संख्यामा कमी भएको बताए । – रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु