एउटा माछाको साढे पाँच लाख !

२०७५ श्रावण २३ गते, बुधबार

काठमाडौं, २३ साउन । भारतको मुम्बईमा माछा मार्ने पेशा गर्दै आएका दाजुभाई एउटै माछा बेचेर लखपति भएका छन् । महेश मेहर र उनका भाइ भरत गत शुक्रबार अन्य दिनसरह नै माछा मार्नका लागि समुद्रमा गएका थिए । आफ्नो सानो डुंगामा माछा मार्न निस्किएका उनीहरुले जाल थापे । जाल भारी भएपछि उनीहरुले माछा फसेको अनुमान गर्दै जाललाई तान्न थाले । जालमा ३० किलो वजनको एउटा माछा थियो । माछा लिएर तटमा आइपुग्नासाथ उनीहरुले मारेको माछाको चर्चा सुरु भयो । किनकि उक्त माछा सामान्य थिएन । घोल जातको उक्त माछा दुर्लभ हुनका साथै निकै महँगो मानिन्छ ।
उनीहरुसँग घोल माछा रहेको हल्ला बजारभरी फैलियो । उक्त माछा लिलाममा बिक्री गर्ने निधो भयो । उक्त माछा खरिद गर्नका लागि व्यापारीहरुको भीड नै लाग्यो । अन्ततः एक व्यापारीले सो माछालाई साढे पाँच लाख रुपैयाँमा खरिद गरे । यो माछा निकै स्वादिष्ट हुनका साथै बहुपयोगी गुण भएको मानिन्छ । यसमा औषधीय गुणसमेत हुन्छ । पूर्वी एसियामा यो माछा निकै महँगोमा बिक्री हुने गर्दछ । यो माछालाई ‘सुनको मुटु भएको’ पनि भनिन्छ । यो माछा कस्मेटिक उत्पादनमा समेत प्रयोग गरिन्छ । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु