ऊ अर्थात ढाँट बहादूर – बलराम तिमल्सिना

२०७५ चैत्र २३ गते, शनिबार

कैले,
उसैको टाङ्मुनि छिरेर
उसैले हामीलाई सिध्याउँने भयो भन्छ ।
कैले ,
उसैलाई काँधमा बोकेर
उनीहरूबाट खतरा छ भन्छ
बन्दुक नै बन्दूकको घेराबाट कैलै
आत्तितै चिच्याउँछ-
‘ऊ..ऊ मलाई मार्न आउँदै छन !’

कैले,
रातो झण्डाले सिँगान पुच्छै भन्छ-
‘अरुले हामीलाई फुटाउँन खोज्दै छन ‘
कैले,
विचलनसँगै मन्द मन्द मस्किदै भन्छ-
‘कसैले हामीलाई विगार्न खोज्दै छन’

कैले,
महाजनको वैठक कोठामा बसेर
महाजनसँग तिघ्रा खप्ट्याएर भन्छ-
‘सत्य सत्य राम राम ,
अव तपाईको हुँदो गर्ने पालो हो ‘
कैले,
मजदूरको आधा रोटी माग्दै भन्छ-
‘आहा ! इतिहासको याद आयो,
म त उहिलैदेखि तिम्रै हुँ नि !’

एता पनि ढाँट्छ , उता पनि ढाँट्छ
एता हात चाट्छ, उता जुत्ता चाट्छ
एता गैंडाको जिब्रोले चाट्छ
उता सक्कली जिब्रोले चाट्छ !

उसको लागि,
ढाँट्न कुनै दिवस आउँनु पर्दैन
सँधै ढाँट्ने दिवस
सँधै चाट्ने दिवस
ऊ अर्थात ढाँट बहादुर !

प्रतिक्रियाहरु