उपन्यास तादी किनारको गीतको अंश – महेश पौड्याल

२०७२ भाद्र ६ गते, आईतवार

दुखिनीले नयाँ साडी लगाइ— लखुमले बिहेमा किनिदिएको । बिकवालाई पनि सबैभन्दा राम्रा लुगा लगाएर तयार पारी । लखुमले भने नयाँ लुगा लाइरहनुपर्ने खासै केही देखेन । उही पुराना दौरा–सुरुवाल र टोपी लागाएर जाने निधो ग¥यो । पोका पनि त्यति धेरै कहाँ थिए र ! केही पुराना ओड्ने–ओछ्याने, केही भाँडाकुँडा र अलिकति सुकेका माछा । सुन र पैसाको त कत्रो भारी पो हुन्छ र !
एकाबाहिनै, कोही नउठी हिँड्ने तरखर गरे उनीहरूले । मान्छे उठेपछि हिँड्न गाह्रो । जेले पनि तान्दिन्छ मन । जेले पनि अल्झाउँछ आँखा । जुठेल्नाकै ढुङ्गो पनि कहाँदेखि ल्याएको लखुमले ! बारीको आँप फुल्न थालेको थियो, र फल्ने थियो त्यो साल । छरछिमेकको भने खासै चिन्ता लागेन लखुमलाई । सुनकोशी र इन्द्रावती माईले सराप्लान् भन्नेचाहिँ डर थियो उसलाई, भित्र कता कता । त्यसैले उज्यालो नहुँदै भाग्ने तरखर गरेको थियो उसले । माझीबाले पनि भनेका थिए, बिहान, ब्रह्ममुहूर्तको
समय सबैभन्दा पवित्र । बिहान, भालेको पहिलो डाकोमै उसले उठायो दुखिनी र बिकवालाई । पोका पत्यौरा त बेलुकै तयार थिए । आकाशमा अझै देखिन्थे एकदुईवटा तारा, टिमटिम । लखुमले लुगाफाटा, भाँडाकुँडा र सुकेका माछाको पोको बोक्यो । दुखिनीले अझै पनि निद्रामै झुलिरहेको बिकवालाई बोकी र उनीहरु मूल दैलोबाट फुत्त आँगनमा निस्किए ।
लखुमलाई सधैं लाग्थ्यो, छोडेर जाने बेला उसले आफैंले बनाएको घरले छेक्नेछ उसलाई । तर यस्तो केही भएन । घुर्मैलो उज्यालोमा एकछिन हे¥यो उसले आफ्नो घरलाई एकपल्ट । यसै घरमा गएको थियो उसकी आमाको प्राण । “आमा !” उसका ओठबाट निस्कियो । कहाँ थाम्न सक्नु मन् ! भक्कानो छुट्यो उसको । छोड्यो डाको । आँगनको एक किनारमा धरहराजस्तै उभिएको आँपको बोटलाई अङ्कमाल ग¥यो र मायाको चिनोस्वरुप केही थोपा आँसु दियो । दुखिनीले पनि सुँक्क सुँक्क गरेको थाहा पायो उसले । तर बाटोमा धरहरा देखिने उत्साहले ऊ पुनः खुसी नै भई र ठमठम हिँडी । कहाँ थियो ऊसँग रुने समय ?
लखुमले आफैंलाई बलियो बनायो र मूलढोकामा ढ्याक्क ताल्चा लायो । उसले यत्रो वर्षदेखि रजाइँ गरेको घरको मालिक भोलिदेखि को हुने हो, त्यसको चिन्ता उसलाई भएन । अनि तीनजनाको परिवार ओरालो लाग्यो, तल दोलालघाटको पुलतिर ।
माझीगाउँमा पर कतै कुकुरहरू भुकिरहेका सुनिन्थे । चन्द्रमा पश्चिमतिर अस्ताउन लागेको, चाँदीको सानो धर्सोजस्तो मात्रै देखिन्थ्यो । दोलालघाट पुलमा पुगेपछि लखुमले पोको बिसायो । दुखिनीले पनि बिकवालाई भुइँमा राखी । लखुम दक्षिणतिर फर्कियो, हात जोड्यो र जोर नदीलाई पुकारा गर्दै भन्यो, “माई, मलाई माफ गर । मैले तिमीहरुलाई धोका दिएँ ।” यसपल्ट भने लखुम रोएको देखी दुखिनीले, जिन्दगीमा पहिलोपल्ट । ऊ पनि रोई, धर्धरी । अवोध बिकवाले भने केही बुझेन ।
हुन पनी सुनकोशी र इन्द्रावतीलाई आमा मानेर उसले यत्तिका वर्ष बिताएको थियो । तिनै नदीले दिएका माछा मारेर बाँचेको थियो; परिवार पालेको थियो । तिनै नदीको छातीमा डुङ्गा चलाएर उसले जीविका चलाएको थियो । कहिल्यै ऐया भनेका थिएनन् ती नदीले । सकेको, भएको दिएकै त थिए !
पुलबाट उत्तरतिर, तल नदीकिनारमा कुबेरका मोटर डुङ्गा लखुमलाई अट्टाहास गरेर उभिएका थिए । चालकहरु डङ्डङ् सुर्ती उडाउँदै एकाबिहानै आइसकेका थिए, बिहनीपखका पहिला यात्रु नगुमाउन । चोकमा
भने चियाका दुईचार पसल खुलेका थिए । दूधको गाडी घत्र्याङ्–घत्र्याङ् गर्दै पुलबाट उनीहरुका कान खाएर गयो । एकछिन त्यो चिर सन्नाटा खल्बलियो, तर पुनः फर्कियो । पुलमा बिहानको हल्का उज्यालो पोखियो । अब छिटै उज्यालो हुनेछ, र चिनाजानाहरु आउनेछन् । धेरैले सोध्नेछन्, पुछ्नेछन् । गाह्रो हुनेछ यात्रा । अरु त केही डर थिएन लखुमलाई । उसले कसैको एक पैसा तिर्न बाँकी थिएन । बरु उसका माछा बाँकी खाएका पैसा उठाउन भने धेरै बाँकी थिए दोलालघाटमा । उसले माया मार्ने नै निधो गरेको थियो, ती सबैलाई ।
ऊ हतारियो र पोको बोक्यो । दुखिनीले पनि बच्चो बोकी, र उनीहरु फटाफट हिँडे । दोलालघाटको पुल तर्न मात्रै के लागेका थिए,कसैले पछाडितिरबाट करायो, “होए, को हो ? पर्खी ।” लखुमले पछाडि हे¥यो । दुखिनी पनि फर्किई । कुमार पो रहेछ ! गुण्डाको राजा । लखुमका नौनारी गलेर आए, डरले । खुट्टा थर्थरी कामे ।
काँधको भारीले किच्लाजस्तो भयो उसलाई । उसले भारी बिसायो । दुखिनीका अनुहारभरि डर पोतियो ।
“कहाँ जान ला’को ?
“नुवाकोटतिर हजुर । अलिकति सुकेको माछा छ । म टक्¥याउँछु, हजुर ।”
“कहिले फर्कने ?”
लखुमले उत्तर दिएन । लामो साँस फे¥यो, र सुनकोशीतिर हेरिरह्यो ।
“कहिले फर्कन्छस् भनेको, सुनिनस् ?”
“हजुर, सुनें । म फर्कन्नँ हजुर । म सधैंका लागि जान लागेको ।”
कुमारले यस सूचनालाई सहजताका साथ लिएको पाइएन । उज्यालो छ्याङ्ङै भइसकेको थियो । मान्छेको अनुहारको आभा पढ्न सकिन्थ्यो । घाम भने झुल्किसकेका थिएनन् ।
“किन जान लागेको ?” यस पल्ट स्वरमा अलि मलिनता थियो । केही नैराश्य पनि ।
“अब यहाँ बाँच्न गाह्रो भयो, हजुर । हाम्रा डुङ्गा चल्न छोडे । मोटर डुङ्गाले खाइदियो हामीलाई । कहिलेकाहीँ चलिहाले भने पनि कसैले एक पैसा दिँदैन । नदीमा माछा पनि त्यति सारो पाइँदैन आजभोलि । हाम्रो भाग त परै जाओस, तपाइँलाई टक्र्याउन पुग्ने माछा पनि मार्न सक्दैनौं हामी । हामीमात्रै होइन, सबै माझीहरु सर्दैछन् । गावैं उठ्दैछ ।”
कुमारको अनुहारभरि एउटा विषद अँध्यारो पोतियो । जीवनमा पहिलोपल्ट उसका आँखामा ग्लानि देखियो ।
अरु केही नबोली लखुमले आफ्नो कुम्लो खोल्यो र सुकेका माछाको पोको निकाल्यो । त्यो पोको कुमारलाई दिँदै भन्यो, “लिनुस् हजुर । यति नै छ मसँग । अब हाम्रो बाटो नछेकिदिनुस् ।”
कुमारले केही प्रतिक्रिया दिएन । माछा पनि लिएन । ठिङ्ग उभ्भिइमात्र रह्यो । घरी लखुमलाई त घरी दुखिनीलाई, अनि घरी बिकवालाई हेरिरह्यो, पालैपालो । कुमार अझै पनि ऊसँग खुसी छैन जस्तो लागेर लखुमले भन्यो, “मसँग अरु केही छैन हजुर । म के टक्र्याउँ यहाँलाई ? लिनुस् न । मागुर माछा हो ।”
तर अहँ, अझै कुमारका हात अगाडि बढेनन् । लखुमले आफ्नो एउटा हात सुरुवालको खल्तीमा घुसा¥यो, एउटा पाँच सय रुपियाको नोट निकाल्यो र कुमारलाई दिँदै भन्यो, “अब त छोडिदिनुस् सरकार । हामी गरिबलाई कति लुट्नुहुन्छ ?”
“लखुम, मलाई यो चाहिँदैन । तिमी साँच्चिकै दोलालघाट छोडेर जान लागेका हौ ?”
“हो हजूर । अब हामी कहिल्यै फर्कन्नौं । लिनुस् न हजूर । यो यहाँकै त हो ।”
“मलाई थाहा छ, तिमीले दोलालघाट छोड्नुको एउटा कारण म पनि हुँ ।”
केही बेर कसैका मुखबाट कुनै शब्द निस्केन । दुखिनी छक्क परेर उभ्भिइरही । बिकवाले कुमारका आँखामा तिखो गरेर हे¥यो, मानौं कुमारको क्रूरतालाई ऊ धिक्कारिरहेको थियो । कुमारलाई भने बिकवाका बाटुला आँखा देख्दा, जिन्दगीमा पहिलोपल्ट कसैमाथि साँच्चिकै माया लागेर आएको अनुभव भयो ।
“लखुम, मिल्छ भने दोलालघाट छोडेर नजाऊ । यति लामो समयदेखि तिमी यहीँ थियौ । हामी सबै तिमीलाई माया गर्छौं । मलाई केही दिनुपर्दैन अबदेखि । तर गाउँ छोडेर नजाऊ ।”
तर लखुमले आफ्नो नियतिको बाटो रोजिसकेको थियो । कुमारलाई विश्वास गर्ने आधार पनि त थिएन ऊसँग ।
“म फर्कन्नँ हजुर । म धेरै थाकिसकेको छु यहाँ ।”
उता दुखिनी भने अधीर हुन लागिसकेकी थिई । केही–कथम लखुमले फर्कने निर्णय ग¥यो भने त धरहरा देखिँदैन । उसले मनमनै पलाञ्चोक भगवतीलाई प्रार्थना गरी, “भगवती, लखुमले फर्कने निर्णय नगरोस् ।”
नभन्दै भगवतीले प्रार्थना सुनिछिन्, लखुमले तत्काल निर्णय सुनायो, “हजुर, म फर्कन्नँ । मेरो बाटो नछेक्नोस् ।”
कुमारसँग केही बाटो रहेन । उसले आफ्नो खल्तीबाट एक हजार रुपियाँको एउटा नोट निकाल्यो र आँसु पुछ्दै बिकवाको हातमा राखिदियो । अनि भन्यो, “लखुम्, म ज्यादै दुःखी छु । तिमीजस्ता माझी एकएक गरेर दोलालघाटबाट जान थालेपछि यो घाट मर्छ ।”
आँखाका डिलमा यतिञ्जेल अल्झेका आँसुका ढिक्का झरे निस्फिक्री र बजार्रिए पुलमा । लखुम पनि रोयो, पीडाको रोदन र खसे आँसु त्यही पुलमा । दोलालघाटको पुल, जसले त्यो दिनसम्म मन जोड्न सकेको थिएन, आँसुको दोभान बन्यो ।
लखुमले कुम्लो बोक्यो, र अगाडि बढ्यो । दुखिनी बिकवालाई बोकेर पछि लागी । दोलालघाट चोकैमा उनीहरु हेलम्बु यातायातको बस चढे । कुमारले बसलाई निकै बेर हे¥यो र पुलमै बस्यो, थचक्क ।

प्रतिक्रियाहरु