उपत्यकामा रगत अभाव

२०७३ कार्तिक ८ गते, सोमबार

काठमाडौँ, ८ कात्तिक । रक्त सञ्चार केन्द्रले काठमाडौँ उपत्यकामा ताजा रगतको अभाव भएकाले बिरामी र उनीहरूका आफन्त समस्यामा परेको जनाएको छ । दसैँदेखि उपत्यकामा रगत सङ्कलन कार्यक्रम नभएकाले अभाव भएको हो । केन्द्रका उपनिर्देशक प्रकाश यादवका अनुसार सोमबारदेखि अझै अभाव हुने सम्भावना छ । शनिबार ५० युनिटका लागि रक्तदान कार्यक्रम आयोजना गरे पनि १०/१२ युनिट मात्र सङ्कलन भएको छ । हाल दैनिक साढे ३५० युनिट रगतको माग छ तर सङ्कलन भने त्यो अनुरूप नभएको केन्द्रको भनाइ छ ।
उपनिर्देशक यादवका अनुसार दसैँको फूलपातीसम्म एक हजार २०० युनिटभन्दा बढी रगत सङ्कलन हुने गरेकोमा अहिले १०÷१२ युनिट पनि सङ्कलन भएको छैन । रगतको अभाव हुन थालेकाले रक्तदाता स्वयंसेवक र आयोजकलाई रक्तदान गर्न केन्द्रले आग्रह गरेको छ ।
स्वयंसेवक रक्तदाता र रक्तदान कार्यक्रम सञ्चालन गर्ने संस्थाले भने यस्ता कार्यक्रम गर्ने संस्था वा व्यक्तिलाई प्रोत्साहन गर्नुका साटो बेवास्ता गर्ने गरेकाले यो समयमा बर्सेनि रगत अभाव हुने गरेको जनाएका छन् ।

प्रतिक्रियाहरु