उपत्यकाको हावा सास फेर्न ‘अयोग्य’

२०७३ चैत्र ३१ गते, बिहीबार

काठमाडौं, ३१ चैत। सरकारी बेवास्ताका कारण झन् झन् प्रदूषित बन्दै गइरहेको काठमाडौं उपत्यकाको हावा चौबीसै घन्टा सास फेर्न अयोग्य रहेको डरलाग्दो तथ्य प्रदूषण मापकहरूले रेकर्ड गरेका छन् । सरकारकै वातावरण विभागले उपत्यकामा तीन ठाउँ र दृष्टि काठमाडौं नामक गैरसरकारी संस्थाले उपत्यकाका १४ स्थानमा स्टेसन राखी प्रदूषण मापन गर्दा राजधानीको हावा २४ घन्टै सास फेर्न अयोग्य रहेको पाइएको हो ।
दृष्टि काठमाडौंले दुई महिनादेखि पर्टिकुलेट म्याटर २.५ को धुलोको मापन गरी अनलाइनमार्फत २४ घन्टाकै प्रदूषणको रिपोर्ट दिँदै आएको छ । चैत ३० गते बुधबार मध्यरात १२ बजेदेखि बिहान १० बजेसम्म प्रदूषणको अवस्था खतराजनक देखिएको छ । यो समयमा सोझै फोक्सोमा पुगी रक्तनलीमार्फत शरीरभरि फैलिने पर्टिकुलेट म्याटर २.५ का धुलोको कण १५६ देखि १८६ माइक्रोग्राम घनमिटरसम्म पुगेको थियो ।
१० बजेदेखि १२ बजेसम्म त्यस्ता पर्टिकुलेट म्याटरको मात्रा अतिप्रदूषित मानिने ९६ देखि १२० मिटरक्यू पुगेको थियो । स्वास्थ्यका दृष्टिले यो अवस्था अति नै खतराजनक भएको त्रिवि शिक्षण अस्पतालका छातीरोग विशेषज्ञ डाक्टर करवीरनाथ योगी बताउँछन् । काठमाडौंको धुलोमा सास फेर्दा मानिसको फोक्सोलगायत संवेदनशील अंगमा सोझै असर पुग्ने उनको भनाइ छ । पर्टिकुलेट म्याटर २.५ का धुलोका कण स्वासका माध्यमबाट फोक्सो हुँदै रक्तनलीसम्म पुग्ने गर्छ । यो अवस्था शरीरका लागि अतिसंवेदनशील मानिन्छ । –अन्नपूर्ण पोस्ट

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु