उद्योग वाणिज्य महासंघको चुनाव चैत २९ मा

२०७० चैत्र २६ गते, बुधबार


काठमाडौं,२६ चैत । उद्योग वाणिज्य महासंघको यही चैत २९ मा नयाँ नेतृत्वका लागि हुने निर्वाचनमा अध्यक्ष पदमा हालका वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकणिर्कार र उपाध्यक्ष प्रदीपजंग पाण्डे चुनावी मैदानमा छन् ।महासंघ (एफएनसीसीआई) को निर्वाचन नजिकिँदै जाँदा अध्यक्षका प्रत्याशीले निजी क्षेत्रलाई बलियो बनाउने एजेन्डालाई प्राथमिकता दिएका छन् । हिजो नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको कार्यक्रममा दुवैले विधान संशोधनले प्राथमिकता पाउने बताए ।’६ महिनाभित्र महासंघको विधान संशोधन गर्ने मेरो एक एजेन्डा हो,’ राजकणिर्कारले भने, ‘चेम्बर ल, निजी क्षेत्रका समस्याहरूमध्ये प्राथमिकता तोक्ने र निजी क्षेत्रको सशक्तीकरणलाई प्राथमिकता दिने छु ।’ कार्यक्रममा अध्यक्षका अर्का प्रत्याशी पाण्डेले पनि विधान संशोधनलाई प्राथमिकता दिने बताए ।’विधान संशोधनको उहाँको एजेन्डामा म सहमत छु । योभन्दा पहिले पनि सशंशोधनको प्रयास भएको थियो तर हुन सकेन,’ पाण्डेले भने, ‘जुन कुरा बोल्छौं त्यो पूरा गरौं । पूरा गर्न नसक्ने कुरामा नबोलौं ।’ उनीहरू दुवैले निजी क्षेत्रको सुदृढीकरण, समृद्ध अर्थतन्त्रलगायत विषयलाई आफ्ना एजेन्डा बनाएका छन् ।दुवैले आफू निर्वाचित भए पनि पराजय भए पनि ती मुद्दामा लागिरहने प्रतिबद्धतासमेत जनाए । नेपालीलाई विदेशमा लगानी खुला गर्ने गर्ने विषयमा भने उनीहरूको मत बाझिएको छ । पाण्डेले घुमाउरो शैलीमा विदेशमा लगानी खुला गरिनुपर्ने धारणा राखेका थिए । राजकणिर्कारले भने अहिले नै लगानी खुला गर्न नहुने धारणा सांकेतिक रूपमा राखेका छन् । ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनकै एक दफामा नेपालीलाई लगानी खुला गर्नु प्राविधिक रूपमा सही हैन भन्ने आधिकारिक धारणा महासंघले यस अघि नै राखिसकेको छ,’ राजकणिर्कारले भने, ‘तर नेपालीले विदेशमा लगानी लैजानै हुन्न भन्ने संकुचित मानसिकतामा पनि रहिरहनु हुन्न ।’पाण्डेले विज्ञता, क्षमताको आधारमा नेपालीलाई विदेशमा लगानी खुला गरिनुपर्ने धारणा राखे । ‘नेपालको पुँजी कुनै पनि हालतमा बाहिर जानु हुँदैन । बाहिरबाट नेपाल ल्याइनुपर्छ,’ उनले भने, ‘सम्भावना भएका उद्योगी व्यवसायीलाई विज्ञताको आधारमा सम्भावित ठाउँमा खुला गरिनुपर्छ ।’पाण्डेले संघीयताबारे अहिले नै निजी क्षेत्रले बहस सुरु गर्नु हतार हुने टिप्पणी गरे । राजकणिर्कारले भने संघीयताको मूल आधार अर्थतन्त्रसँग जोडिएका विषयमा मात्रै निर्धारण गरिनुपर्ने धारणा राखे ।महासंघको आगामी कार्यकालको ६१ पदका लागि १ सय ३२ जनाको उम्मेदवारी परेको छ । दुवैले दुई साताअघि प्यानलमा सार्वजनिक गरी चुनावी मैदानमा होमिएका हुन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु