उद्योग वाणिज्य महासंघको अध्यक्षमा प्रदीपजंग पाण्डे

२०७० चैत्र ३० गते, आईतवार


काठमाडौं।निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा प्रदीपजंग पाण्डे भाष्करराज राजकर्णिकारलाई १ सय ७७ मत अन्तरले पराजित गर्दै विजयी भएका छन्।महासंघको ४८ औं साधारण सभाले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गरेको हो। एसोसियटतर्फका ५ सय ९० भोटमध्ये पाण्डेलाई २ सय ८९ भोट प्राप्त भएका छन् भने प्रतिद्वन्दी राजकर्णिकारले २ सय ९१ भोट प्राप्त गरे। त्यस्तै, वस्तुगततर्फका ८८ भोटमध्ये पाण्डेले ५६ मत प्राप्त गरे भने राजकर्णिकारले ३२ मत प्राप्त गरे । जिल्ला/नगरतर्फका ९३ मतमध्ये पाण्डेले ४९ मत प्राप्त गरे भने राजकर्णिकारले ४२ मत प्राप्त गरे ।
मतपरिणामलाई औषतमा निकाल्दा अध्यक्षमा पाण्डेले १ हजार ५५ मत प्राप्त गरेका छन् भने भाष्करले ८ सय ७८ मत प्राप्त गरेका छन् । मतपरिणाम पाण्डेका पक्षमा ५४.६ प्रतिशत र भाष्करका पक्षमा ४५.४ प्रतिशत रहेको निर्वाचन समितीले जनाएको छ ।
निजी उद्योगी व्यवसायीहरूको प्रतिनिधित्व गर्ने महासंघ एक वर्षअघिदेखि नै दुई समूहमा विभाजित थियो। महासंघका निवर्तमान उपाध्यक्ष राजकर्णिकार र उपाध्यक्ष पाण्डे दुई खेमामा बाँडिएका थिए।
मतपरिणाम आइतबार बिहान तीन बजे घोषणा गरिएको हो। नतिजाअनुसार वस्तुगत र जिल्ला/नगर दुवैतर्फको उपाध्यक्षमा पाण्डे समूहका उम्मेदवार विजयी भएका छन्। एसोसिएट उपाध्यक्षमा भने राजकर्णिकार पक्षका उम्मेदवार विजयी भए।
वस्तुगतको उपाध्यक्षतर्फ दिनेश श्रेष्ठ ५९ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी उदयराज पाण्डेले २८ मत ल्याए। श्रेष्ठ पाण्डे समूहका हुन्। जिल्ला/नगरको उपाध्यक्षमा पाण्डे समूहका किशोरकुमार प्रधान विजयी भएका छन्। उनले ९३ मत ल्याए। उनका प्रतिद्वन्द्वी राजकर्णिकार समूहका डिबी बस्नेतको भागमा ८९ मत पर्‍यो।
एसोसिएट उपाध्यक्षमा शेखर गोल्छा ३ सय १० मत ल्याएर विजयी भए। उनी राजकर्णिकार पक्षका हुन्। उनका प्रतिद्वन्द्वी बिके श्रेष्ठले २ सय २६ मत ल्याए।
वस्तुगततर्फ पाण्डे पक्षका ६ जना र राजकर्णिकार पक्षका ५ जना निर्वाचित भएका छन्। एकजना साझा उम्मेदवार छन्। निर्वाचित हुनेमा अनुपबहादुर मल्ल, अशोक शर्मा, उमेशलाल श्रेष्ठ, कमला श्रेष्ठ, राजकुमार भट्टराई, राजन शर्मा, सुकुन्तलाल हिराचन, शंकर पाण्डे, सौरभ ज्योति, सञ्जीव गिरी, संदीप राजभण्डारी र संदीपकुमार अग्रवाल छन्।
जिल्लागत सदस्यतर्फ विजयी हुनेमा केशवराज पाण्डे, गुणनिधि तिवारी, चोपनारायण श्रेष्ठ, दिलसुन्दर श्रेष्ठ, निरक केसी, नरेन्द्र श्रेष्ठ, प्रमोद श्रेष्ठ, महेन्द्रकुमार श्रेष्ठ, युवक राजभण्डारी, राजेन्द्रकुमार श्रेष्ठ, शंकर श्रेष्ठ, विजयकुमार सरावगी र ओमप्रकाश बंसल छन्। भुषण राजलवट र प्रकाशबहादुर साउतको भने मत बराबर छ।
अञ्चल प्रतिनिधितर्फ विजयी हुनेमा मेचीबाट प्रकाश प्रसाईं, कोशीबाट रोहितप्रसाद प्रसाईं, सगरमाथाबाट अशोककुमार अग्रवाल, जनकपुरबाट रामकपुर साह (निर्विरोध), बागमतीबाट मनिषलाल प्रधान, नारायणीबाट धर्मनाथप्रसाद जैसवाल (निर्विरोध), गण्डकीबाट दीपक लम्साल (निर्विरोध), लुम्बिनीबाट कृष्णप्रसाद श्रेष्ठ, धवलागिरीबाट निर्माणकुमार श्रेष्ठ (निर्विरोध), राप्तीबाट हरिहर बुढाथोकी, भेरीबाट भवानी राणा (निर्विरोध), कर्णालीबाट नरविर रावत, सेतीबाट गोपाल हमाल (निर्विरोध) र महाकालीबाट मंगलसिंह ठगुन्ना (निर्विरोध) छन्। द्विराष्ट्रिय उद्योग वाणिज्य संघबाट त्रिभुवनधर तुलाधर निर्विरोध निर्वाचित भइसकेका छन्।
यसअघि शुक्रबार रातभरि दुवै पक्षले मत तान्ने अन्तिम प्रयास गरेका थिए। त्यसक्रममा जिल्ला/नगर उद्योग वाणिज्य संघ किनबेचको खेलसमेत भएको व्यवसायीहरू नै बताउँछन्। एसोसिएटमा पनि ‘प्रोक्सी’ कसले बढी उठाउने भन्ने होडबाजी चलेको उनीहरूले आरोप लगाए। पछिल्लो दुई सातादेखि नै दुवै समूहले प्रोक्सीका लागि कसरत गरेका थिए।
‘महासंघको निर्वाचनमा शुक्रबार राति भएको किनबेच हेर्दा विधानै परिवर्तन गर्नुपर्ने अवस्था देखिएको छ,’ एक व्यवसायीले भने, ‘होइन भने निर्वाचन खर्चिलो र भड्किलो भएर व्यवसायी आलोचित हुने र महासंघकै गरिमा घट्ने अवस्था छ।’ महासंघको निर्वाचनमा देखिएको चलखेलले स्ववियु निर्वाचनको झल्को दिएको एक व्यवसायीले टिप्पणी गरे।
राजकर्णिकार समूहबाट वरिष्ठ उपाध्यक्षका उम्मेदवार पशुपति मुरारका र पाण्डे समूहबाट भवानी राणा छिन्। राणा भेरी अञ्चलबाट निर्विरोध भइसकेकी छन्। वरिष्ठ उपाध्यक्ष निर्वाचित पदाधिकारीको मतबाट छानिनेछ।
निर्वाचनमा एसोसिएटतर्फ ५ सय ६९, जिल्ला/नगर उद्योग वाणिज्य संघमा ९३, वस्तुगतमा ८९ र द्विराष्ट्रिय उद्योग वाणिज्य संघमा १० मत परेको थियो। वस्तुगतका लागि १२, एसोसिएटमा १६, जिल्ला/नगरमा १४, क्षेत्रीय स्तर समूहमा १४ जनाका लागि निर्वाचन भएको हो।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार

हिमालयन हाइड्रो एक्स्पो शुरु

२०८१ बैशाख १२ गते, बुधबार

२९ वटा ठेकेदार कम्पनी कालोसूचीमा

२०८१ बैशाख ११ गते, मंगलवार