उत्तर कोरियामा कुनै पनि बेला युद्धको अवस्था आउन सक्ने

२०७४ बैशाख २ गते, शनिबार

काठमाडौं,२ वैशाख । चीनले उत्तर कोरियामा कुनैपनि बेला युद्धको अवस्था आउनसक्ने चेतावनी दिएको छ । चीनले उत्तर कोरियाको विषयमा तनाव बढ्दै गएको र त्यहाँ कुनै पनि बेला युद्धको अवस्था आउन सक्ने चेतावनी दिएको हो । बढ्दो तनावले यद्धको रुप लिने र त्यसबाट कसैको जित नहुने चीनका विदेश मन्त्री वांग यीले बताएका हुन् । उत्तर कोरियाको परमाणु कार्यक्रमप्रति अमेरिकाले चासो र चिन्ता व्यक्त गरिरहेका बेला चीनको यस्तो भनाइ आएको हो । चीन उत्तर कोरियाको नजिकको सहयोगीको रुपमा मानिदै आएको छ ।
उत्तर कोरियाली तनावका कारण हुने युद्धले आफ्नो सीमा क्षेत्रमा समस्या आउन सक्ने भन्दै चीनले चिन्ता व्यक्त गरेको छ । चीनका विदेश मन्त्री वांगले जुनसुकै प्रकारबाट एक अर्कालाई भड्काउने र धम्काउने क्रियाकलापबाट भयावह अवस्था सिर्जना हुन नदिन सबै पक्षसँग आग्रह गरे । अमेरिकाले कोरियाली प्रायद्विपमा एक नौ सैनिक युद्धपोत तैनाथ गरिसकेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली समस्याको समाधान खोजिने बताएपछि चीन थप चिन्तित बनेको हो । – एजेन्सी

प्रतिक्रियाहरु