उत्तर कोरियाद्वारा तीन अमेरिकी नागरिक रिहा

२०७५ बैशाख २७ गते, बिहीबार

काठमाडौं, २७ बैशाख । उत्तर कोरियाले तीन अमेरिकी नागरिकलाई हिरासतमुक्त गरेको छ । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरमार्फत दिएको जानकारी अनुसार उत्तर कोरियाद्वारा रिहा गरिएका तीन अमेरिकी नागरिक घर फर्कदैछन् ।
उत्तर कोरियाले राज्य विरोधी गतिविधि गरेको भन्दै किम हाक सङ, किम साङ डुक तथा किम दोङ चुललाई हिरासतमा लिएको थियो । उनीहरुलाई श्रम शिविरमा समेत राखिएको थियो । तीमध्ये दुईजना सन् २०१७ मा पक्राउ परेका तथा अर्का एकजना १८ महिनाअघि नियन्त्रणमा लिइएका हुन् । उत्तर कोरियाको यो कदम अमेरिकी राष्ट्रपति ट्रम्प तथा उत्तर कोरियाली नेता किम जोङ उनबीच हुने भनिएको ऐतिहासिक शिखर बैठकपूर्वको एउटा सद्भावपूर्ण संकेत मानिएको छ । हिरासतमुक्त गरिएका उनीहरु अमेरिकी विदेशमन्त्री माइक पोम्पेओसँगै अमेरिका फर्कने ट्रम्पले बताएका छन् । बिहीबार बिहानै एन्ड्रुज हवाई अड्डामा उनीहरुको स्वागत गरिने पनि ट्रम्पले उल्लेख गरेका छन् । अमेरिकी विदेशमन्त्री पोम्पेओ भने ट्रम्प र किमबीच हुने आसन्न शिखर बैठकको प्रबन्ध मिलाउन उत्तर कोरिया गएका हुन् । ट्रम्पले विदेशमन्त्री पोम्पेओ र उत्तर कोरियाली नेता किमबीच भएको बैठक राम्रो भएको उल्लेख गर्दै किमसँग हुने प्रत्यक्ष वार्ताको स्थान तथा समय पनि तय गरिएको बताएका छन् ।
यद्यपि, त्यसबारे थप जानकारी भने दिइएको छैन । – एजेन्सी

प्रतिक्रियाहरु