उत्तर कोरियाको उपग्रहबाट अमेरिका भयभित

२०७४ बैशाख २७ गते, बुधबार

काठमाडौं,२७ वैशाख । अमेरिका र उत्तर कोरियाबीचको तनावले विश्वलाई नै चिन्तित तुल्याएको छ । पछिल्लो समय दुबै मुलुक शक्ति प्रदर्शन र धम्कीको भाषामा जोड दिइरहेबाट विश्वमा तनाव बढ्दै गएको छ ।
यसैबीच अमेरिकी गुप्तचर अधिकारीहरुले उत्तर कोरियाद्वारा अन्तरिक्षबाटै अमेरिकामाथि हमला हुन सक्ने आशंका जनाएका छन् । उत्तर कोरियाको पूर्ण सामरिक शक्ति विश्वजगतमा प्रष्ट नभए पनि उसका केही गतिविधि र चुहावट भएका केही सूचनाको आधारमा अमेरिकी गुप्तचरले यस्तो आशंका व्यक्त गरेका हुन् । स्रोतका अनुसार उत्तर कोरियाले इलेक्ट्रोनिक पल्स हतियारलाई अमेरिकाविरुद्ध प्रयोग गर्ने सम्भावना अत्यधिक रहेको छ । यसका लागि व्यापक तयारी भइरहेको पनि अमेरिकी गुप्तचरहरुको दाबी छ । उत्तर कोरियाका दुई उपग्रहले अन्तरिक्षबाटै अमेरिकामाथि निगरानी गरिरहेको बताइएको छ ।
सन् २०१२ र २०१६ मा अन्तरिक्षमा पठाइएका उत्तर कोरियाका ती दुई उपग्रहले पृथ्वीको परिक्रमा ९४ मिनेटमै गर्न सक्छन् । ती दुबै उपग्रहका माध्यमबाट उत्तर कोरियाले अन्तरिक्षमै हाइ अल्टिच्यूड परमाणु हतियार विस्फोट गराएर अमेरिकामाथि साइबर हमला गर्न सक्ने अमेरिकी गुप्तचरको आशंका छ । यसरी साइबर हमला गरेर अमेरिकाको रक्षा प्रणाली ध्वस्त पार्ने उसको योजना रहेको पनि अमेरिकी अधिकारी बताउँछन् ।
अमेरिकाको होमल्याण्ड सेक्युरिटी र नेशनल इलेक्ट्रोनिक्स पल्स टास्क फोर्सका कार्यकारी निर्देशक डा. पिटर विनसेन्ट प्राइका अनुसार उत्तर कोरियाले आफ्नो उपग्रहलाई परमाणु क्षेप्यास्त्रका रुपमा विकसित गरिरहेको छ । अमेरिकी संचार उपकरणलाई ध्वस्त बनाएर अमेरिकामाथि हावी हुने प्रयासमा उत्तर कोरिया लागिरहेको उनको भनाइ छ ।
उत्तर कोरियाली नेता किम जोङ्ग उनको हत्या गर्ने योजना सीआइएले तयार पारेको समाचार प्रकाशमा आएपछि उत्तर कोरियाले पनि आक्रामक नीति अख्तियार गर्न थालेको अमेरिकी विज्ञहरुको भनाइ छ । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु