उच्च मावि र कलेजमा अख्तियारको छापा

२०७१ पुष १५ गते, मंगलवार

काठमाडौ । सरकारी तलब खाएर निजी क्याम्पसमा पढाएको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग टोलीले झापाको मेची बहुमुखी क्याम्पस भद्रपुर र पाँच निजी उच्च मावि र कलेजमा छापा मारेको छ । बिर्तामोडका अधिकांश कलेजमा मेची बहुमुखी क्याम्पसका प्राध्यापकको लगानी भएको र पढाउने समय पनि एउटै भएको भन्दै गुनासा आएको थियो । टोलीले बिर्तामोडको मनकामना कलेज, कन्काई आदर्श कलेज, कोहेड कलेज, एमिटी कलेज र भद्रपुरको इमरलेन्ड एकेडेमीबाट कागजात बरामद गरेको हो । कतिपय कलेज दिउँसो बन्द भएको र सञ्चालकले फोनसमेत नउठाएकाले कार्यालयमा पस्न नपाएको अख्तियार पूर्वाञ्चल क्षेत्रीय कार्यालयका शाखा अधिकृत विष्णुलाल घिमिरेले जनाए ।
कलेजबाट शिक्षकहरूको हाजिरी, लगानीकर्ताको नाम, लगानी रकमको विवरण संकलन गरिएको छ । दिउँसो २ बजेतिर मेची क्याम्पस पुगेको टोलीले त्यहाँ पनि प्राध्यापकको हाजिरी, पढाउने समय, ठेगाना र अन्यत्रका कलेजमा पढाउने गरे/नगरेको, पढाइ अनुमति लिए/नलिएको विवरण संकलन गरेको छ । मेची क्याम्पसका प्रमुख उमानाथ ओलीले प्राध्यापकहरूले अन्यत्र पढाउने र लगानीसमेत भएको स्वीकारे । ‘पहिला यस्त्ाो बन्देज थिएन,’ उनले अख्तियार टोलीसँग भने, ‘डेढ वर्षअघि यो प्रावधान आएको हो, तर हामीले त्यसभन्दा पहिले नै लगानी गरिसकेका थियौं ।’ ओलीले बिर्तामोडको कोहेड कलेजमा लगानी गरेका छन् । अख्तियारका घिमिरेले सोमबार सम्पर्क हुन नसकेका कलेजहरूमा पुनः आउने बताए ।

प्रतिक्रियाहरु