ईश्वरको खेती – बलराम तिमल्सिना

२०७६ चैत्र ३ गते, सोमबार

मेरो लागि त ईश्वर छैन
तर तिम्रो लागि त छ नि है
सर्व शक्तिमान ईश्वर ?
यदि छ भने ईश्वर
भन त ऐले के गरेर बस्दै छ त्यो ?

चुपचाप चुपचाप सुतिरहेको छ,
पूजारीहरूसँग
दक्षिणामा मोलतोल गर्दै छ ,
या पत्थर बनेर मन्दिरमा
तिमीले चढाउँने मिठाइ पर्खेर बसेको छ ?

तिमीले कहिलै भेट्यौ ईश्वर ?
ईश्वरसँग बोलचाल पनि भयो कि ?
तिमीलाई उसको ठेगाना थाहा छ ?
आँखा चिम्लेरै विश्वास गर्ने ए भक्त
नढाँटी भन त तिमी
ईश्वरको पेसा-व्यवसाय के हो ?

धनीसँग मिल्नु र गरीवलाई लुट्नु
बलियोसँग मिल्नु र कमजोरलाई ङ्याक्नु
भ्रष्टहरूसँग मिल्नु
भरमार दक्षिणा बटुल्नु
र पापमोचनको वरदान दिनु
के यही हो उसको व्यवसाय ?

या मान्छे मान्छेलाई फुटाउँनु
आपसमा जुधाउँनु
जुध्न नचाहनेहरूलाई
बेस्सरी उकास्नु
रगतको खोलो बगाउँनु
लासको पहाड उठाउँनु
र पर्दा पछाडि लुकेर
मुसुमुसु मुस्कुराउँनु
कतै यो पो हो कि ईश्वरको खेती ?

म सवैको अभिभावक हुँ भन्नु
तर सक्नेले शासन गर भन्नु
भोकले मरेको पनि हेरिरहनु
रोगले थला परेको पनि हेरिरहनु
अत्याचार गरेको पनि हेरिरहनु
कतै यही पो हो कि ईश्वरको परिचय ?

कुनै विपत्ती
कुनै महाप्रलय
कुनै शङ्कट
कुनै विश्वयुध्द
कहीं कतै पनि नदेखिएको ईश्वर
कोसँग भाँडाकुटी खेलेर बसेको छ ?

सानोदेखि ठूलोसम्म
सबै काम मान्छेले गर्नु पर्ने
हरेक शङ्कटको समाधान
केवल मान्छेले गर्नु पर्ने
हरेक युध्द अभाव र चुनौतीको सामना
हामी मान्छेले नै गर्नु पर्ने
अनि म अदृश्य छु भन्दै
म देखिन मिल्दैन भन्दै
सँधै लुकेर बस्ने
अनि हामीमाथि शासन गर्न खोज्ने
तिम्रो ईश्वर झुटो हो !

ईश्वरको खेतीमा
युगौंदेखि लागिरहेको
ए ईश्वरवादी मान्छे
तिम्रो खेतीमा सँधै
किन विष मात्रै फल्छ ?

मेरो लागि त ईश्वर छैन
ईश्वर छ भन्ने ए आस्तिक मान्छे
तिमीसँग ईश्वर छ भन्ने
कुनै दसी प्रमाण पनि छ कि ?

प्रतिक्रियाहरु