इरान र इराकको सीमा क्षेत्रमा ७ . ३ म्याग्नेच्युटको भूकम्प

२०७४ कार्तिक २७ गते, सोमबार

काठमाडौं, २७ कात्तिक । इरान र इराकको सीमा क्षेत्रमा गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा १२९ जनाको मृत्यु भएको छ । इराकको कुर्द शहर हालब्जा नजिकैलाई केन्द्रविन्दू बनाएर गएको ७ दशमलव ३ म्याग्नेच्युटको भूकम्पमा ३ सयभन्दा बढी घाइते भएका छन् । केही घाइतेको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने बताइएको छ । भूकम्पपछि दुवै देशका सीमावर्ती क्षेत्रका कयौं भवन ध्वस्त भएका छन् भने भौतिक संरचनामा पनि ठूलो क्षति भएको छ ।
भूकम्पपछि त्यहाँको विद्युत् र सञ्चार सेवा अबरुद्ध भएको छ । भूकम्प गएसँगै मानिसहरु अत्तालिएर घरबाट बाहिर सडकमा निस्किएको र उनीहरु सडकमै बसिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
इराकको राजधानी बग्दादका नागरिक प्रार्थनामा जुटेका छन् । इरानको रेड क्रिसेन्ट नामक संस्थाका प्रमुख मोर्टेजो सलिमले कम्तिमा पनि ८ वटा गाउँमा ठूलो क्षति पुगेको खबर आएको बताएका छन् ।
इरानी समाचार संस्था आइआरआइएनएनले उद्धार टोलीलाई देशको पश्चिमी भागतिर तैनाथ गरिएको जनाएको छ । भूकम्पको धक्का टर्की र इजरायलमा पनि महसुस गरिएको बताइएको छ । -एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु