इरानद्वारा अमेरिकाकाे कडा विराेध

२०७५ जेष्ठ ८ गते, मंगलवार

काठमाडौं, ८ जेठ । अमेरिकाले इरानविरूद्ध इतिहासकै सबैभन्दा कडा नाकाबन्दी लगाउने बताएपछि इरानले अमेरिकी प्रशासनकाे कडा अालाेचना गरेकाे छ । अमेरिकी विदेशमन्त्री माईक पोम्पअाेकाे उक्त भनाइकाे कडा निन्दा गर्दै इरानका राष्ट्रपति हसन रूहानीले ‘इरान र विश्वका लागि निर्णय गर्ने’ अमेरिकी विदेशमन्त्रीको विश्वसनीयतामाथि प्रश्न उठाएका छन् ।
इरानी राष्ट्रपति हसन रूहानी
इरानी विदेशमन्त्री जवाद जारिफले भनेका छन्, ‘अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले अघि सारेका कदमहरूले अमेरिका ‘असफल नीतिहरू’को बन्दी भएको देखाउँछ र उसले नराम्रो परिणाम भोग्नुपर्छ ।’
र्इयुकाे पनि विराेध
यसैबीच, युरोपेली संघ-इयुको विदेश नीति प्रमुख फेडेरिका मोगेरिनीले पनि अमेरिकाको आलोचना गरेकी छन्। उनले भनेकी छन्, ‘इरानसँगको सन् २०१५ को पारमाणविक सम्झौताबाट बाहिरिँदा मध्यपूर्व कसरी सुरक्षित हुन सक्छ भन्ने कुराको पुष्टि गर्न पोम्पेओ विफल भएका छन् ।
यसै महिना अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बाहिरिने घोषणा गरेको सम्झौताको ‘कुनै विकल्प नभएको’ मोगेरिनीकाे भनाइ छ । उनले इरान आफ्ना प्रतिबद्धताहरूप्रति कटिबद्ध रहे इयु उक्त सम्झौताप्रति प्रतिबद्ध रहने उल्लेख गरिन्।
के भनेका थिए पाेम्पेअाेले ?
अमेरिकी विदेशमन्त्री पोम्पेओले पारमाणविक सम्झौतापछि अमेरिकाले फुकुवा गरेका इरान विरूद्धका प्रतिबन्धहरू पुनः लगाइने बताएका थिए । उनले नयाँ कदम अन्तर्गत इरानी सत्तामाथि ‘अभूतपूर्व आर्थिक दबाब’ दिइने अभिव्यक्ति दिएका थिए । पोम्पेओले नयाँ सम्झौताका लागि इरानले सिरियाबाट आफ्ना फौज फिर्ता बोलाउनुपर्ने र यमनमा विद्रोहीहरूलाई समर्थन बन्द गर्नुपर्ने शर्त अघि सारेका छन्।
इरानसँग अमेरिकाका विभिन्न १२ शर्त रहेकाे बताएका पाेम्पेअाेले इरानविरूद्धकाे नयाँ प्रतिबन्धलार्इ ‘प्लान बी’ काे संज्ञा दिएका छन् ।
अमेरकी विदेशमन्त्री माइक पाेम्पेअाे
तर, अमेरिकाले इरानविरूद्ध चाल्ने ‘कडा कदम’ के हुनेछ, यसबारे चाहिँ पोम्पेओले स्पष्ट पारेका छैनन् । तर इरानको केन्द्रीय बैंकमाथि अमेरिकाले गत हप्ता लगाएको प्रतिबन्ध ‘शुरूवात’ मात्रै भएको उनकाे संकेत छ । यसअघिका अमेरिकी प्रतिबन्धहरूले इरानसँगको सबै व्यापारमा रोक लगाएका थिए। सन् २०१५ मा अमेरिका र इरानबीच भएको पारमाणविक सम्झौताबाट अमेरिका पछि हटेको छ ।-बिबिसी

प्रतिक्रियाहरु