इराकको संसदीय चुनावमा पूर्व शिया लडाकु गठबन्धन विजयी

२०७५ जेष्ठ ५ गते, शनिबार

काठमाडौं, ५ जेठ । इराकको संसदीय चुनावमा पूर्व शिया लडाकु प्रमुख मोक्तदा अल सद्र नेतृत्वको गठबन्धन विजयी भएको छ । निर्वाचन आयोगका अनुसार अल सद्रको गठबन्धनले ५४ सीट जितेको छ भने इरान समर्थक फतह गठबन्धनले ४७ सीटसहित दोस्रो स्थान पाएको छ । वर्तमान प्रधानमन्त्री हैदर अल अबादीको दल भने ४२ सीटसहित तेस्रो स्थानमा खुम्चिएको छ । लामो समयदेखि अमेरिका विरोधीका रुपमा रहेको अल सद्र आफैँ चुनावमा नउठेकाले प्रधानमन्त्री बन्न भने पाउने छैनन् । तर नयाँ सरकार गठनमा सद्रको महत्वपूर्ण भूमिका रहनेछ । सन् २००३ को अमेरिकी नेतृत्वको आक्रमणपछि दुईवटा आन्दोलनको नेतृत्व गरेका अल सद्र कट्टर राष्ट्रवादी र इरानका कडा आलोचक मानिन्छन् ।
इराकी फौजलाई सघाउन करीब पाँच हजार अमेरिकी सेना अझै इराकमा छन् । भ्रष्टाचारविरुद्ध लड्ने र सार्वजनिक सेवामा लगानी गर्ने प्रतिबद्धतासहित अल सद्रको गठबन्धन चुनावी अभियानमा होमिएको थियो । सन् २०१४ मा इराकको ठूलो हिस्सा कब्जा गरेको आइएसलाई हराएपछि निर्वाचन गरिए पनि इराकको पुनर्निर्माणका लागि एक अर्ब डलर लाग्ने अनुमान गरिएको छ । जबकी गत फेब्रुअरीमा भएको दातृ सम्मलेनमा भने दाताहरूले ३० अर्ब डलर उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए ।-एजेन्सी

प्रतिक्रियाहरु