इमो मार्फत् ठगि

२०७५ बैशाख १० गते, सोमबार

काठमाडौं, १० बैशाख । नेपाल टेलिकमको सिम प्रयोग गरेबापत रु २५ लाखको ‘चिट्ठा’ परेको भन्दै सामाजिक सञ्जाल ‘इमो’मार्फत् नुवाकोटका एक युवा ठगिएका छन् । टेलिकमको सिमकार्ड प्रयोगकर्ताबीच गोलाप्रथामार्फत् छनोट हुँदा विजेता बनेको भन्दै ‘इमो’मार्फत् ठगले तार्केश्वर गाउँपालिका–१, दाङसिंहका लोकबहादुर तामाङलाई फोन गरी विभिन्न बहाना बनाएर रु दुई लाख ९० हजार ठगेको हो । २९ वर्षीय तामाङलाई चिट्ठामार्फत् रु २५ लाख विजेताको छनोट भएको भन्दै यही वैशाख ३ गते इमोमा हिन्दी भाषामा बोल्ने पुरुषले खबर गरेका थिए ।
त्यसलगत्तै विजेता भएको रकम जतिसक्दो चाँडो दावी गर्न दबाब दिँदै त्यसका लागि राजश्वबापत सुरुमा रु ४० हजार मागिएको थियो । ठगले रु २५ लाखको चिट्ठासहित थप रु पाँच लाख बोनस रकमसमेत पाएको भन्दै नक्कली चेक बनाएर इमोमार्फत् फोटो पठाउँदै अतिरिक्त रकम आइएमई गरी पठाउन भनेअनुसार तामाङ र उनका भाइ महेन्द्रबहादुरले रु दुई लाख ९० हजार पठाएपछिमात्र आफू ठगिएको महसुस गरेका छन् । उनीहरुले यही वैशाख ५ गते दुईपटक रु ४० हजार, रु ७५ हजार र ६ गते रु एक लाख ७५ हजार इमोमार्फत् फोन गरी आफ्नो नाम विजयकुमार र नेपाल टेलिकमको ‘उच्च अधिकृत’ भन्ने व्यक्तिले भनेअनुसार आइएमई गरेका हुन् । त्यो रकम काठमाडौं ठेगाना भएका प्रकाश थिङ, प्रेमकुमार गिरी र तेजेन्द्र खड्काको नाममा पठाएको लोकबहादुरले बताए । ‘रु २५ लाख पाउने लोभमा विभिन्न बहाना बनाएर रकम मागेपछि होला भनेर दियौं–लोकबहादुरले भने–‘हिन्दी भाषामा इमोमार्फत् कुरा गर्ने मान्छेको नेपाल टेलिकम नाम रहेको, त्यहाँ टेलिकमको लोगो प्रयोग गरिएको, चेक तयार भएको भन्दै फोटोसमेत पठाएकाले विश्वास गरेका थियौं, अहिले बर्बाद भयौं ।’ ‘इमो’बाट फोन गरी रकम ठग्नेविरुद्ध पीडित युवाले आफू ठगिएको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी गरे पनि रकम काठमाडौंमा पठाएको र अन्तर्राष्ट्रिय गिरोहमार्फत् भएको हुनसक्ने भन्दै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)मार्फत् न्यायको अपिल गर्न सुझाव दिएको प्रहरी निरीक्षक लालबाबु शाहले जानकारी दिए । सामाजिक सञ्जाल फेसबुक, भाइबर, इमोलगायतका माध्यममार्फत् ठगहरुले विभिन्न प्रलोभन देखाएर रकम ठगी गर्ने स्वदेशी एवं विदेशी गिरोह सक्रिय भएकाले त्यसतर्फ सचेत हुन मोबाइल फोन प्रयोगकर्तालाई प्रहरीले अनुरोध गरेको छ । -रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चार लाख राष्ट्रिय परिचयपत्र वितरण

२०८१ बैशाख १३ गते, बिहीबार

१३ जना जुवाडे पक्राउ

२०८१ बैशाख १३ गते, बिहीबार

डोल्पामा यार्सा सङ्कलन खुला हुँदै

२०८१ बैशाख १३ गते, बिहीबार