इबोला भाइरसबाट एकहजार १३ जनाको मृत्यु

२०७१ श्रावण २७ गते, मंगलवार


काठमाडौ । विश्व स्वास्थ्य संगठनले हालैका दिनमा देखिएको इबोला नामको खतरनाक भाइरसका कारण कम्तीमा पनि १०१३ जनाको ज्यान गएको जनाएको छ ।
प्राप्त समाचारमा अफ्रिकाका पश्चिमी तीन देशमा यो भाइरसको सङ्क्रमण रहेको छ । उक्त सङ्क्रमणबाट हालसम्म ती देशका १०१३ जनाको ज्यान जानुका साथै १८४८ जना सङ्क्रमित भएका छन् ।
सो भाइरसको सङ्क्रमण अगष्टको पहिलो सातादेखि व्यापक मात्रामा देखिन थालेको हो । यसका कारण अगष्टको ७ देखि ९ तारिखसम्ममा यी नागरिकको ज्यान गएको हो ।
पश्चिमी अफ्रिकी देश गुयना, लाइबेरिया, र सियरालियोनमा सो सङ्क्रमण बढ्दो रुपमा रहेको छ ।
ती देशमा यस भाइरसबाट सङ्क्रमित हुनेहरुको सङ्ख्या प्रतिदिन बढ्दो मात्रामा रहेको छ । सो अवस्थाको जानकारी विश्व स्वास्थ्य संगठनले सोमबार प्रकाशन गरेको विज्ञप्तिमा जनाएको हो ।यस भाइरसको सङ्क्रमण विश्वका विभिन्न देशमा पनि फैलिनसक्ने भन्दै उक्त संस्थाले सतर्क रहन विश्वका अन्य राष्ट्रहरुलाई पनि आग्रह गरिरहेको छ । – एएफपी

प्रतिक्रियाहरु