इन्स्टाग्राम मृत्युको कारक !

२०७६ जेष्ठ २ गते, बिहीबार

काठमाडौं, २ जेठ । सामाजिक सञ्जालले कतिपयलाई एक्लोपनबाट मुक्ति दिने गरेको पाइन्छ भने कतिपयको जीवन बर्बाद भएको उदाहरण पनि छन् । मलेसियामा एक किशोरीका लागि इन्स्टाग्राम नै मृत्युको कारक बन्यो । समाचार एजेन्सीहरुका अनुसार पूर्वी मलेसियाको सरावक निवासी १६ वर्षीया ती किशोरीले इन्स्टाग्राममा आफ्नो जीवनसँग सम्बन्धित प्रश्न राखेर मत सर्वेक्षण गरेकी थिइन् । ‘धेरै महत्वपूर्ण, चयनका लागि मद्दत गर्नुस्– मृत्यु या जीवन !’ उनले प्रश्न गरेकी थिइन् । उनको सो पोस्टमा मानिसहरुले आफ्नो मत प्रकट गर्न थाले । प्रकट गरिएका मतमध्ये ६९ प्रतिशतले उनलाई मृत्युको सुझाव दिएका थिए । त्यसपछि ती किशोरीले आत्महत्या गरेको बताइएको छ । उनले घरको छतबाट हामफालेर आत्महत्या गरेकी हुन् । ती किशोरीको परिचय भने खुलाइएको छैन । जिल्ला प्रहरी प्रमुख अइदिल बोलहासनका अनुसार ती किशोरी ‘डिप्रेसन’ ग्रस्त थिइन् । स्थानीय वकिलले ती किशोरीलाई आत्महत्याका लागि उक्साएको आरोपमा मृत्युको पक्षमा मत प्रकट गर्ने ६९ प्रतिशत मतदातामाथि कारवाही हुन सक्ने बताए । सांसदसमेत रहेका कानुन व्यवसायी रामकर्पाल सिंहले भने, ‘ती किशोरीलाई मृत्यु रोज्न हतोत्साहित गरेको भए आज उनी जिउँदै हुने थिइनन् र ?’ मलेसियामा आत्महत्याको प्रयास गर्नु अपराध मानिन्छ । आत्महत्याका लागि कसैलाई उक्साउनु पनि अपराध नै मानिन्छ । -एजेन्सी

प्रतिक्रियाहरु