इन्धनमा स्वचालित मूल्य लागु गरिदै

२०७१ आश्विन ५ गते, आईतवार


काठमाडौ, ५ असोज ।आयल निगमको घाटा बर्सेनि बढ्न थालेपछि सरकारले इन्धनको ‘स्वचालित मूल्य प्रणाली’ लागू गर्ने तयारी गरेको छ। स्वचालित मूल्य प्रणालीबारे बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले पास गरिसकेको छ। ‘बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले इन्धनको स्वचालित प्रणालीबारे पास गरेको छ,’ परिषद्का सदस्य तथा अर्थमन्त्री रामशरण महतले कान्तिपुरलाई भने। निर्णय गरिसकेकाले तत्कालै केही दिनभित्रै लागू गरिने निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले बताए। ‘स्वचालित मूल्यबारे परिषद्ले स्वृकिति दिइसकेको छ,’ भट्टले भने, ‘आइतबार वाणिज्य तथा आपूर्ति मन्त्रालयमा छलफल गरी लागू गर्नेछौं।’ स्वचालित मूल्य यही साताभित्र लागू हुने जानकारी दिए।
अहिले पेट्रोल, डिजेल मट्टीतेलमा नाफा भए पनि ग्यासमा भएको घाटाले केही समस्या देखिएको छ। निगमका अनुसार सेप्टेम्बर महिनामा प्रतिलिटर पेट्रोलमा १३ रुपैयाँ ३२ पैसा, डिजेलमा १ रुपैयाँ ७ पैसा, मट्टीतेलमा १४ रुपैयाँ २२ पैसा, हवाई इन्धन आन्तरिक उडानमा ३९ रुपैयाँ ४१ पैसा, हवाई इन्धन कर छुट अन्तर्राष्ट्रिय उडानमा प्रतिलिटर ४६ रुपैयाँ ६३ पैसा नाफा छ। यस्तै, एलपीजी ग्यासमा भने प्रतिसिलिन्डर ५ सय ५३ रुपैयाँ ६ पैसा घाटा छ।
व्यावसायिक प्रयोजनका लागि नीलो रङको सिलिन्डर परल मूल्यमा बेच्ने तयारी गरेको छ। निगमका अनुसार ७० प्रतिशत ग्यास घरायसी प्रयोजन र ३० प्रतिशत व्यावसायिक प्रयोजनका लागि खपत हुने गर्छ। स्वचालित मूल्य लागू गर्दा ग्यासमा घाटा कम गर्न सकिने निगमको दाबी छ। निगमले डिजेलमा घाटा नाफा नराखेर परलमूल्यमा बिक्री गर्ने तयारीसमेत गरेको छ।
‘ग्यासमा प्रतिसिलिन्डर ५ सय ५३ रुपैयाँ घाटा छ। पूर्ण रूपमा स्वचालित मूल्यमा जाँदा मूल्य एकैचोटि बढाउनुपर्छ,’ निगमका प्रवक्ता मुुकुन्दप्रसाद घिमिरेले भने, ‘एकैचोटि बढाउन सकिंदैन।’ उनले ग्यासको मूल्य यथावत् राखेर पार्सिएल रूपमा लागू गर्ने जानकारी दिए। ‘अहिले कार्यविधि तयार हँुदैछ। कार्यविधिलाई सञ्चालक समितिले पास गरेपछि अन्तिम रूप दिन्छौं,’ उनले भने। कार्यविधिमा कुन/कुन पदार्थमा कति नाफा राख्ने, कसरी सञ्चालन गर्नेलगायत विषय उल्लेख गरिएको बताए।
निगमका अनुसार ग्यासको दोहोरो मूल्य लागू गरिएपछि मात्रै ग्यासमा स्वचालित मूल्यमा जान सकिन्छ। यसका लागि ग्यास बिक्री कार्यविधि, २०६९ संशोधनको हुनुपर्नेछ। ‘कार्यविधिमा एकल वा दोहोरो मूल्य भनेर उल्लेख छ। मन्त्रिपरिषद्बाट कार्यविधि संशोधन भएलगत्तै दोहोरो मूल्य लागू हुन्छ,’ घिमिरेले भने।
वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता दीपक सुवेदीले पनि स्वचालित मूल्यको तयारी अन्तिम चरणमा पुगेको बताए। ‘तयारी अन्तिममा पुगेको छ। ग्यासले केही समस्या देखिए पनि त्यसको विकल्प रातो र नीलो सिलिन्डर लागू गर्नु हो,’ उनले भने। उनले स्वचालित मूल्यसँगै मूल्य स्थिरीकरण कोष पनि सँगै स्थापना गरिनेे बताए। ‘कोषले स्वचालित मूल्यलाई धेरै सघाउँछ,’ सुवेदीले भने।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु