इन्डोनेसियामा भूकम्प, दुईजनाको मृत्यु, ३०० घर क्षतिग्रस्त

२०७५ बैशाख ६ गते, बिहीबार

काठमाडौं, ६ वैशाख । इन्डोनेसियाको जाभा प्रान्तमा आएको भूकम्पमा परी दुई व्यक्तिको मृत्यु हुनाका साथै अरु २१ जना घाइते भएका छन् । यस भूकम्पका कारण ३०० भन्दा बढी घर क्षतिग्रस्त भएको प्रकोप नियन्त्रण निकायका अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् । प्राकृतिक प्रकोप व्यवस्थापनका प्रवक्ता पुर्वो नुङ्रोहोेकाअनुसार यस भूकम्पका कारण दुई हजारभन्दा बढी व्यक्तिलाई अन्यत्र सुरक्षित स्थानमा सारिएको छ । घाइतेहरुलाई नजिकैको अस्पतालमा उपचारका लागि लगिएको बताइएको छ । स्थानीय समयानुसार बुधबार अपराह्न १३ः२८ बजे आएको यो भूकम्प ४.४ म्याग्निच्यूडकोमात्र भएको त्यहाँको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । तर, भूकम्पको केन्द्रविन्दु चार किलोमिटरमात्र गहिराइमा नै रहेको हुनाले बढी क्षति भएको बताइएको छ ।
यस भूकम्पका कारण ३१६ घर, चार मस्जिद र दुईओटा विद्यालय भवन क्षतिग्रस्त भएको बताइएको छ । भूकम्प प्रभावित क्षेत्रबाट दुई हजार १०४ व्यक्तिलाई सुरक्षित स्थानमा सारिएको जनाइएको छ । भूकम्प प्रभावित क्षेत्रमा सयौंको संख्यामा उद्धारकर्ता, सेना र स्थानीय बासिन्दाले सहयोग गरिरहेको समाचारमा उल्लेख छ । इन्डोनेसिया बारम्बार भूकम्पले सताउने देशको सूचीमा पर्दछ ।- रासस/सिन्ह्वा

प्रतिक्रियाहरु