प्रकाण्ड सर्वोच्च आदलतमा

२०७५ भाद्र २८ गते, बिहीबार

काठमाडौं, २८ भदौ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डलाई बन्दी प्रत्यक्षीकरण रिटमाथिको सुनुवाईका लागि सर्वोच्च आदलत पुर्याइएको छ । प्रकाण्डका भाई विरेन्द्र विश्वकर्माले गैरकानूनी तरिकाले गिरफ्तार गरी प्रहरी हिरासतमा थुनामा राखेको भन्दै रिहा गर्न मागसहित दर्ता गरेको रिट निवेदनमाथि बहस गर्न बन्दी प्रकाण्डलाई बाटोको म्याद बाहेक ४८ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्च आदलतले यही २५ गते आदेश दिएको थियो ।
गत साउन २२ गते साँझ साढे ७ बजे काठमाडौंको फर्पिङ–बल्खु सडकखण्ड अन्तर्गत टौदहनजिक चाल्नाखेलबाट गिरफ्तार गरेयता बन्दी प्रत्यक्षीकरण रिट निवेदनमाथिको बहस यो चौथो पटक हो । उनलाई काठमाडौं, काभ्रे, नुवाकोट र भोजपुरमा लगाइएको अभियोग किनारा लागेपछि भदौ २० गते अर्को अभियोगमा दाङ लगिएको थियो । राज्यले नियन्त्रणमा लिएका नेकपाका नेतामध्ये प्रकाण्ड उच्च तहका नेता हुन् । उनी पार्टीमा प्रवक्ताका साथै स्थायी समिति सदस्य छन् ।
राज्यले नियन्त्रण लिएका केन्द्रीय नेताहरुमा पोलिटब्यूरो सदस्य (पीबीएम) उमा भुजेल ‘शिलु’, मोहनबहादुर कार्की ‘जीवन्त’, कृष्णप्रसाद धमला ‘गम्भीर’, पदमबहादुर राई ‘विकास’ र ओमप्रकाश पुन देशका विभिन्न जिल्लामा प्रहरी हिरासतमा छन् ।
त्यस्तै केन्द्रीय सदस्यहरु देवनारायण शाह, देवान राई ‘दिप्सन’, टेकबहादुर के.सी. ‘आजाद’, चन्द्रबहादुर खडका ‘असल’ लगायत पाँच जनालाई विगत तीन महिनादेखि विभिन्न जिल्लामा अनुसन्धान गर्न भन्दै राखिएको छ ।

प्रतिक्रियाहरु