इच्छुकको त्रै–आयामिक मूल्य – खेम थपलिया

२०७४ जेष्ठ १२ गते, शुक्रबार

यतिखेर हामी महान् सांस्कृतिक सहिद कृष्ण सेन ‘इच्छुक’ को स्मृति र सम्मानमा सांस्कृतिक बलिदान दिवस मनाइरहेका छौँ । रसियन क्रान्तिले गोर्की र चिनियाँ क्रान्तिले लु सुनजस्तै नेपाली धर्तीमा महान् जनयुद्धले ‘इच्छुकलाई जन्मायो । नेपाली धर्तीमा उहाँले गौरवपूर्ण बलिदान प्राप्त गर्नुभयो । उहाँ क्रान्तिकारी आस्थाको रक्षार्थ सदैव प्रेरक हुनुभएको छ । आफ्नै सहयोद्धाको गद्दारीका कारण तत्कालीन सत्ताले २०५९ साल जेठ ६ गते काठमाडौँबाट इच्छुकलाई गिरफ्तारी ग¥यो । एक सातासम्म निर्मम यातना दिएर जेठ १३ गते उहाँको हत्या गरियो । २०४६ सालको जनआन्दोलनमार्फत जनताको सीमित नै भए पनि हक–अधिकार प्राप्त गर्ने आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याउनुभएका इच्छुकको त्यसको रगत–पसिना सुक्न नपाउँदै त्यही कथित प्रजातन्त्रले उहाँको रगतलाई ठाडो घाँटी लगाएर घटघटी पियो । मध्ययुगीनशैली अपनाएर सीमित प्रजातान्त्रिक अधिकारको घाँटी निमोठ्दै, संवैधानिक व्यवस्थालाई दुरुपयोग गर्दै क्रान्तिकारी योद्धालाई, देश र जनताको आस्था र विश्वासको धरोहर एक होनाहार सांस्कृतिक योद्धालाई हामीले भौतिक रूपमा गुमाएको गुमाएका छौँ । तत्कालीन काठमाडौंका डीएसपी विक्रमसिंह थापाले इच्छुकलाई अत्यन्त निर्मम, अमानवीय र बर्बतापूर्ण यातना दिएका थिए । हिरासतमा उहाँलाई किन्ने प्रयास भयो । प्रहरीहरू उहाँबाट पार्टीको गोपनीयता भङ्ग गराउन चाहन्थे तर त्यहाँ उहाँले आफ्नो वर्ग, क्रान्तिकारी आस्था र निष्ठाप्रति प्रतिबद्ध हुँदै आफ्नैअगाडि उभिएको मृत्युको कुनै पर्वाह नगरी भन्नुभएको थियो, “मेरो देशभक्ति मेरो मुटु झिके पनि तपार्इंहरू झिक्न सक्नुहुन्न । हामी देशभक्त क्रान्तिकारी हौँ । त्यसैले कुनै पनि देशद्रोही शक्तिले चाहे त्यो जतिसुकै शक्तिशाली होस्, हामीलाई जित्न सक्दैन ।” उहाँको बलिदान मुक्तिकामी आन्दोलनमा कहिल्यै नपुरिने गहिरो घाउ हो ।
इच्छुकको शब्द र कर्मबीचमा मेल थियो । सर्वहारा–संस्कृतिका पर्याय इच्छुकको आदर्श वाक्य थियो, “मेरो स्वार्थ भन्नु देश र जनताको स्वार्थ हो ।” यस्ता आदर्शबोधी योद्धा इच्छुकको बलिदान महान् सहादतको सर्वोच्च शिखर पनि हो । वास्तवमा इच्छुक मुलुकको सुखद्, समृद्ध र सुन्दर भविष्यको दिशामा कृत–सङ्कल्पित क्रान्तिदूत हुनुहुन्थ्यो । क्रान्तिकारी जनताका अविजित र अटूट आस्थाका प्रतिबिम्ब इच्छुकको सहादतले बलिदानीपूर्ण गौरवको सगर चुमेको छ । उहाँको बलिदानीपूर्ण जीवनगाथाले सिङ्गो क्रान्तिकारी पङ्क्तिमा निराशा र पलायन होइन; बरु थप ऊर्जा, शौर्य, ओज र जिम्मेवारीबोधको सञ्चार गराएको छ । इच्छुकको उज्यालो गाथाले जनसांस्कृतिक आन्दोलनको दिशाबोध गरेको छ । भनिन्छ– असत्य, अवसान र अँध्यारोको विपक्षमा उभिएका इच्छुकलाई जल्लादहरूका यातना शिविरमा दिएको चरम यातनाबाट मूच्र्छित भएपछि दुवै खुट्टामा समातेर महेन्द्र पुलिस क्लबको चौरमा घिसारिएको थियो । दुश्मनका अँध्यारा कालकोठरीमा दुश्मनकै सामुन्ने क्रान्ति र परिवर्तनको आगो ओकल्ने इच्छुकले क्रान्तिले माग गरेको बलिदानको कोटा चुक्ता गर्नुभयो । इच्छुकको शब्द र कर्मबीचको तादात्म्यले भावी पुस्ताका लाखौँ युवालाई मुक्ति र असीम चेतनाको मधुरीमा सञ्चार गरेको छ । इच्छुकको छातीमा दागिएको एउटा कविको छातीमा दागिएको गोली नभएर यो देशलाई माया गर्ने, जनताको मुक्ति आन्दोलनलाई आफ्नो जीवन बनाउने सुन्दर संसारको स्वप्नद्रष्टाहरूका नाभीस्थलमाथि प्रहार गरिएको गोली हो । जीवनलाई विचार, आदर्श, दर्शनअनुसार बनाउन प्रतिवद्ध हुनुले इच्छुकको ओजत्व र स्वत्वलाई न्याय गर्दछ ।
धेरैको मनमा एउटै कुरा खेलिरहेको छ– इच्छुक आज बाँचिरहनुभएको भए के लेख्नुहुन्थ्यो होला ? के बोल्नुहुन्थ्यो होला ? के गर्नुहुन्थ्यो होला ? आदि आदि । इच्छुकले आज धेरै कुरा देख्न पाउनुहुन्थ्यो । उहाँको बलिदानपश्चात नेपालको राजनीतिमा धेरै उथलपुथल आएको छ । बलिदानका असङ्ख्य पिरामीडहरू खडा भएका छन् । मूल्यहरू स्खलित छन् । आदर्शहरू ढलेका छन् । बेपत्ता योद्धाहरू बेखबर छन् । सहिद परिवारको बिचल्ली भएको छ । सपनाहरू मरेका छन् । जनमुक्ति सेना बजारको मालमा परिणत भएका छन् । राष्ट्रियतालाई कुर्सीसित साटिएको छ । वर्गदुश्मन केहीका निम्ति हितैषी बनेका छन् । माओवादी केन्द्र र त्यसका नायक प्रचण्डमा भयानक वैचारिक विचलनका आएको छ । अहिले नेपाल कम्युनिस्ट पार्टी र सो पार्टीका नेतृत्व कमरेड विप्लवले चौतर्फी चुनौतीका बीचमा पनि क्रान्तिको रातोझन्डा उठाउनुभएको झन्डा खतरामुक्त छैन । यसलाई पनि विभिन्न दिशाबाट आएको दुषित हावाको झोक्काले ढलाउने, झुकाउने प्रपञ्च भइरहेको छ । निरन्तर सङ्घर्ष र सफलता असफलताका बीच फेरि पनि सङ्घर्र्ष, यही हो जीवन ! इच्छुक आज हुनुभएको भए सायद राम्रो सवक सिकाइदिनुहुन्थ्यो । यसका विरुद्ध उहाँ निश्चय पनि आगो ओकल्नुहुन्थ्यो । ढँटुवाहरूलाई झापड हान्नुहुन्थ्यो । हुन त व्यक्ति मात्र असल भएर केही हुँदैन भन्ने कुरा हामी सबैलाई थाहा छ । एकपटक महान् साहित्यकार लु सुनले भन्नुभएको थियो, “आफ्नासित आँखा जुधाएर कुरा गर अनि दुश्मनसित औंला ठड्याएर कुरा गर ।” माओले भन्नुभएको थियो, “स्पष्ट होऊ र स्पष्ट कुरा निर्धक्क राख ।” कार्यकर्ताले यही कुरा सिके, वैचारिक स्कुलिङ नै यस्तै थियो । जनताको विजयको कुनै विकल्प छैन । इच्छुक आज हुनुभएको भए हाम्रो साहित्यिक–सांस्कृतिक आन्दोलन उर्बर मात्रै होइन, निष्ठाको राजनीतिको मूल्य कति माथि हुन्थ्यो ! अखिल नेपाल जनसांस्कृतिक महासङ्घले हरेक वर्ष जेठ १३ अर्थात् कृष्ण सेन ‘इच्छुक’ ले सहादत प्राप्त गर्नुभएको दिनलाई सांस्कृतिक बलिदान दिवस मनाउँदै आएको छ । हामी फेरि एकपटक महान् सांस्कृतिक सहिद इच्छुकलाई हार्दिकतापूर्वक लाल अभिवादन गर्न चाहन्छौँ ।
समकालीन विश्व परिस्थितिको एउटा परिवेश त छँदैछ, समकालीन नेपाली राजनीति पनि अत्यन्त चुनौतीका माझ उभिएको छ । सत्तामा दलालहरूको रजगज छ । यस्तो बेला माक्र्सवादी संस्कृतिकर्मीहरूको दायित्व कैयौँगुणा बढेको हुन्छ । राजनीतिक क्षेत्रमा जस्तै सांस्कृतिक फाँटमा गम्भीर चुनौतीहरू नभएका होइनन् । माक्र्सवादी संस्कृतिकर्मीहरूले माक्र्सवाद–लेनिनवाद–माओवादको सैद्धान्तिक पथप्रदर्शनलाई गहिरोसित आत्मसात् गरी समकालीन संस्कृति, साहित्य र कलाको क्षेत्र सही ढङ्गले अगाडि बढ्न सिर्जनात्मक हस्तक्षेप अत्यावश्यक छ । सामन्तवाद, साम्राज्यवाद, दलाल संसद्वाद र सबै किसिमका संशोधनवादका विरुद्धको विचारधारात्मक सङ्घर्षलाई प्रभावकारी रूपमा निरन्तर अगाडि बढाउनुपर्दछ । हामीलाई थाहा छ, संस्कृति पनि वर्गीय हुन्छ । वर्गसमाजमा राजनीतिजस्तै साहित्य, कला र संस्कृतिको स्वरूप पनि वर्गीय हुन्छ । वर्गीय प्रतिबद्धता भएन भने त्यो वर्गसमन्वयवादमा फस्न पुगिन्छ । आन्दोलनमा कैयौँ मानिस जानेर–नजानेर फसेको हामीले देखेका छौँ । सामन्ती आभिजात्यवाद, उत्तर–आधुनिकतावाद र संशोधनवादलाई राम्ररी चिन्नुपर्दछ ।
संस्कृतिकर्मीहरूले राष्ट्रिय, जनवादी तथा वैज्ञानिक संस्कृतिको पक्षपोषण गर्नुपर्दछ । आज हामीकहाँ बाह्य संस्कृति हाबी बन्दै गइरहेको छ । आन्दोलनमा सांस्कृतिक साम्राज्यवाद र उपभोक्तावादी संस्कृतिको व्यापक घुसपैठ, राष्ट्रिय संस्कृति र चिन्तनको मौलिक पहिचानका विरुद्ध उत्तरआधुनिकवादी सांस्कृतिक वर्णशङ्करता, पुनर्लेखन, पुनर्गायनजस्ता मान्यताको पक्षपोषण, साम्राज्यवादी श्रेष्ठताको प्रचार–प्रसारजस्ता परिघटना बढ्दै गएका छन् । देशको राष्ट्रिय अस्मिता, स्वत्व र स्वाभिमान गम्भीर खतरामा परेको छ । यतिखेर राष्ट्रिय अस्मिता र स्वाभिमानको विषयलाई हामीले पहिलो कार्यसूचीमा राख्नुपर्दछ । आज मजदुर, किसान, महिला, दलित, जनजाति, मधेसी, मुस्लिम आदि शोषित पीडित वर्ग र समुदायका हकहितमाथि गम्भीर कुठाराघात भएको छ । समाजमा धार्मिक अन्धविश्वास, रुढिबुढी, धामी–झाँक्री, बोक्सीप्रथा, छुवाछुत, पुनर्जन्म–पुर्वजन्म जस्ता सोंच अझै कायम छन् । आदर्शवाद, ईश्वरवाद, रहस्यवाद र आध्यात्मवादलाई अझै पनि मलजल हाल्न खोजिंदैछ । नेपाललाई इसाईकरण गर्न खोजिँदैछ । यसमा समकालीन संस्कृतिकर्मीहरू निकै चनाखो बन्न आवश्यक छ । सत्यम्, शिवम् र सुन्दरम्लाई हामीले सांस्कृतिक मूल्यबोधसित जोडेर हेर्ने गर्दछौँ । सत्य यथार्थमा आधारित हुन्छ । शिव नैतिकतासित सम्बन्धित छ । सुन्दरले सत्य र शिवको साथमा सौन्दर्यात्मक आदर्श र सङ्गतिपूर्ण जीवनको अपेक्षा गर्दछ । सत्य, शिव एवम् सुन्दरलाई सामन्तवादको स्वार्थमा कैद गरिँदै आएको छ । यसका विरुद्ध साम्राज्यवाद तथा उत्तर–आधुनिकतावाद उभिएको छ । संशोधनवादले सत्य, शिव र सुन्दरलाई वर्गसमन्वयवाद, आदर्शवाद र अधिभूतवादको सिकार बनाउँदै आएको छ । समकालीन संस्कृतिकर्मीहरूले सत्य, शिव र सुन्दरलाई द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद, जनताको जनवाद र साम्यवादको उदात्त आदर्शसित जोडेर विकसित तुल्याउनुपर्दछ ।
संस्कृतिकर्मीहरू सांस्कृतिक आदर्शको प्रश्नमा गम्भीर हुन आवश्यक छ । यो सांस्कृतिक मूल्यबोधको आधार पनि हो । सांस्कृतिक आदर्श भनेको सम्बन्ध ज्ञान, वर्ग तथा जनहित र सामञ्जस्यपूर्ण जीवनसित सन्बन्ध हो । यसले मुक्तिका निम्ति जीवनको उत्सर्ग गर्ने अमर सहिदहरू, बेपत्ता पारिएका योद्धाहरू र घाइते–अपाङ्गका त्याग, वीरता र बलिदानका उत्कृष्ट कीर्तिमानद्वारा आलोकित हुन्छ । ज्ञान, सिर्जना, शिल्प, चिन्तन र जीवनशैलीमा प्रगति र स्तरोन्नति आजको आवश्यकता हो । वर्गीय, सांस्कृतिक तथा भावनात्मक रूपान्तरणमा जोड दिदै दुनियाँ बुझ्ने मात्र ठूलो कुरा होइन, बदल्नु मात्र पनि होइन; बदलिएको चीजको रक्षा गर्नु महत्वपूर्ण कुरा हो भन्ने कुरालाई संस्कृतिकर्मीहरूले बुझ्न जरुरी छ । हामीले सकारात्मक रूपान्तरणको मूल्य र आन्दोलनलाई केन्द्रमा राखेर आफ्नो सांस्कृतिक गतिविधि तीव्र बनाउनुुपर्दछ । रूपान्तरणको अर्को अर्थ आन्दोलन हो । यो वर्गसङ्घर्ष, दुईलाइन सङ्घर्ष र आत्मसङ्घर्षसित सम्बन्धित छ । सांस्कृतिक रूपान्तरणको कुरा गर्दा महान् सर्वहारा सांस्कृतिक क्रान्तिलाई केन्द्रमा राख्नैपर्दछ । सबैखाले जनविरोधी विश्वदृष्टिकोणका विरुद्ध सर्वहारा–संस्कृतिको अवलम्बन गर्नुपर्दछ । कला–साहित्य, संस्कृतिलाई समाजवादी यथार्थवादद्वारा आलोकित हुन्छ भन्ने कुरा सांस्कृतिक आन्दोलनको कखरा नै हो ।
संस्कृतिकर्मीहरूले निरन्तर क्रान्तिको सिद्धान्तलाई आत्मसात गर्न आवश्यक छ । राजनीतिक क्रान्तिहरू सम्पन्न भइसकेपछि पनि सांस्कृतिक आन्दोलनको कार्यभार बाँकी रहन्छ । यसको चरित्र पनि दीर्घकालिक हुने गर्दछ । यो तुरुन्ताको तुरुन्त हुने विषय होइन । चीनमा माओले पुँजीवादीको शिरोच्छेदन गर्न सांस्कृतिक क्रान्ति गर्नुपर्नाका कारण निकै मननीय छन् । मध्यमवर्गलाई रूपान्तरणको अभियानमा गोलबन्द गर्दै क्रान्तिको, परिवर्तनको, रूपान्तरणको सेवामा लगाएर मात्र आजको दुनियाँमा हामी अघि बढ्न सक्तछौँ । मध्यमवर्गमा रहेको राष्ट्रवादी चेतना र परिवर्तन–आकाङ्क्षालाई मूर्तीकृत गर्न संस्कृतिकर्मीलेहरूले विशेष ध्यान दिनैपर्दछ ।
एकीकृत जनक्रान्ति, सांस्कृतिक आन्दोलन र इच्छुक त्रै–आयामिक मूल्य हुन् । इच्छुकको आदर्श र जनसंस्कृतिकर्मीहरूका बीच अन्योन्याश्रित सम्बन्ध रहेको छ । यिनै त्रै–आयामिक मूल्यलाई आत्मसात गर्दै इच्छुकका यी भनाइलाई स्मरण गरौँ, “सधैँ इमानदार र प्रतिबद्ध बनौँ; शब्द र कर्मप्रति, आदर्श र व्यवहारप्रति निष्ठावान् बनौँ । हाम्रो लेखन र सिर्जनअनुरूप हाम्रो जीवनशैली बनोस् ।”

प्रतिक्रियाहरु