आरुषी-हेमराज हत्याकाण्डः फेरि नेपाली कामदारलाई ‘दोषी’ देखाइयो

२०७४ पुष १६ गते, आईतवार

काठमाडौं, १६ पुस । ‘आरुषी–हेमराज काण्ड’ का रुपमा भारतीय समाजमा चिनिएको एक दशक पुरानो गम्भीर अपराध र अझै किनारा लाग्न नसकेको फैसलामा पछिल्लोपटक नेपाली कामदारहरुलाई ‘हत्याको भागिदार’ का रुपमा लान्छना लगाइएको छ । उत्तर प्रदेश, नोयडाको सेक्टर–२५, जयलायु बिहार अपार्टमेन्टमा सन् २००८ को मे १५ मा १४ वर्षीया आरुषी तलवारको शव भेटिएयता प्रहरी अनुसन्धान र अदालती निर्णयमा बाझिंदै फैसला आउने क्रमसँगै गत अक्टोबर दोस्रो सातामा इलाहावाद उच्च न्यायालयले यसअघि ‘क्लिन–चिट’ पाइसकेका कामदारलाई दोषी देखाइएको छ । नोयडाका प्रतिष्ठित चिकित्सक राजेश–नुपुर तलवारकी एकमात्र छोरी आरुषीको शंकास्पद हत्यामा तत्काल आशंका गरिएका घरेलु कामदार हेमराज बञ्जाडेको पनि त्यही अपार्टमेन्टमा आरुषी मृत भेटिएको दुई दिनपछि शव भेटिएको थियो ।
भारतको केन्द्रिय अनुसन्धान ईकाइ, सीबीआईले विभिन्न तह र चरणमा गरेको हत्या अनुसन्धानपछि चार वर्षअघि आरुषीका पितामाता स्वयं हत्यारा रहेको फैसलासहित अदालतले आजीवन कारावासको सजाय सुनाएको थियो । तर, सीबीआई अनुसन्धानको पछिल्लो चरणमा एउटै घटना र प्रकृतिको फैसलामा विगतमा ‘निर्दोष’ सावित भइसकेका पात्रलाई दोष देखाएर थुनामा रहेका तलवार दम्पतीलाई सजायमुक्त गरिएपछि पीडित पक्षका तर्फबाट मृतक हेमराजकी श्रीमती खुमकला बन्जाडेले दिल्ली पुगेर सर्वोच्च अदालतमा उजुरी हालेकी छिन् । ‘मेरा श्रीमान हेमराज बन्जाडेको हत्या कसले गरेको हो रु सीबीआई र अरु सम्बद्ध निकायले मेरा श्रीमानको हत्याराबारेमा अलग सोधबिन किन गर्न नचाहेको हो ?’,अर्घाखाँचीको, धारापानी निवासी खुमकलाले दिल्ली पुगेर फिरेपछि भनिन् ।
दिल्लीस्थित मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको सहयोग लिएर न्यायको खोजीमा अदालत पुगेकी खुमकलाले अहिलेसम्म श्रीमान हत्यामा संलग्न अभियुक्त अथवा कानुनी तहको क्षतीपुर्तिबारेमा कहींकतैबाट भरथेग पाएकी छैनन् । अदालती फैसलामा आरुषी र हेमराज हत्यापछि तलवार परिवारसम्बद्ध नेपाली घरेलु कामदारहरु कृष्ण थापा, राजकुमार तथा विजय मण्डल (भारतीय) लाई दोषी देखाएको छ । यीमध्ये कृष्ण र राजकुमार अहिले नेपालमै बसेर आफ्नो रोजीरोटी धान्ने काम गरिरहेका छन् । आरुषी हत्याकाण्डको अनुसन्धान गर्ने क्रममा यी नेपाली कामदारहरुलाई सीबीआईले चर्को यातनासहित बयान लिएको खबर पनि बाहिर आएको थियो । – कान्तिपुर दैनिकबाट

प्रतिक्रियाहरु