आफ्नो मतप्रति पश्चाताप – बलराम तिमल्सिना

२०७६ असार २० गते, शुक्रबार

एउटा संक्रमणकालीन मनोदशाका कारणले वर्तमान सरकारको पक्षमा मैले पनि मतदान गरेको थिएँ । मतदानपछिका झण्डै डेढ वर्ष सरकारले जुन परफरमेन्स देखायो त्यसबाट मैले आफ्नो मतप्रति पश्चाताप बोध गरेको छु । मैले जस्तै पश्चातापको ज्वालामा दन्कनेहरू लाखौंको संख्यामा होलान। यदि हामीले ल्याएको गणतन्त्रले आफूले दिएको मत निर्धारित समयभन्दा अगावै फिर्ता लिन पाउँने हक स्थापित गरेको हुने थियो भने वर्तमान सरकारको दुई तीहाईको हावा उहिलै फुस्स भैसक्ने थियो।
मतदान गर्ने समयमा मभित्र सरकार निर्माण गर्ने पार्टीप्रति असाध्यै न्यूनतम विश्वासको जुन त्यान्द्रो वाँकि थियो त्यो त्यान्द्रो छिनेको पनि उहिलै हो । तर मजस्तै विश्वासको त्यान्द्रो छिनेकाहरूको मत पनि अझै साँढे तीन वर्ष जवर्जस्ती गणना गरेर यो सरकारले मैमाथि शासन गर्ने छ।
ऐले मैले यो सरकारबाट कुनै राम्रो कुराको अपेक्षा गरेको छैन। यो सरकार जनताले असल कुराको अपेक्षा गर्ने सरकार होइन भन्ने कुरामा म प्रस्ट छु। यो सरकारसँग भारी अपेक्षा गर्ने त भ्रष्टहरूले हो ।तस्करहरूले हो ।ठगहरूले हो । यो सरकारबाट अपेक्षा गर्ने दलाल पूँजीपतिहरूले हो ।नोकरशाह पूँजीपतिहरूले हो। जव कसैसँग कुनै अपेक्षा गर्न छोडिन्छ त्यसपछि उसले राम्रो काम गरेन भनेर चिन्ता पनि नहुने रहेछ।
हालको सरकारको पक्षमा भोट हाल्ने यो देशका नागरिकहरू !
आज यो देशको शासन सत्ता जति अपारदर्शी, जति विश्वासघाती, जति लुच्चो-लोफर, जति क्रुर, जति हाँस्यास्पद र जति कवाडी बनिरहेको छ , त्यसको जिम्मा हामीले पनि लिनु पर्छ। देशभरबाट भोट खन्याएर अहङ्कारको थाप्लोमा पुर्याउँने हामी पनि हुन। जुन दिनबाट आम नागरिकहरूले देशको शासनको हालत खरावीको नैतिक जिम्मा लिन थाल्ने छन र आफूलाई वदल्न थाल्ने छन् त्यो दिनबाट यस प्रकारका गतिछाडा शासकहरूका दिन पनि ढल्न थाल्ने छन्।
निर्वाचनको समय जव हामी खसी बोकाजस्तै बिक्न थाल्छौ, जव हामीले हाम्रो मतले हामीमाथि पाँच वर्ष शासन गर्छ भन्ने कुरा भुल्ने छौं , जव हामीले एक बटुको जाँड, केही चोक्टा मासु , एउटा पुलको आश्वासन या केही हजार पैसामा आफूलाई नेता रुपी कसाहीका हातमा बेच्ने छौं त्यसपछि भोग्ने भनेको यही हो, जुन हामीले भोगिरहेका छौं ।
मैले माथि यी कुरा गरेर वर्तमान सरकारी पार्टी भन्दा नेपाली काङ्ग्रेस असल हो भन्न खोजेको पटक्कै होइन। यो देशको वर्वादीमा अहिलेको सरकारी पार्टीभन्दा काङ्ग्रेस अझ बढी जिम्मेवार छ। राप्रपा असल भन्ने त झन होइन ।ऊ त अझ यो देशको वर्वादीमा काङ्ग्रेसभन्दा घटिया हो । हामीले यही लुटेरा व्यवस्थाभित्रका नयाँ लुटेरा छान्ने कि पुराना लुटेरा छान्ने भन्ने कुरामा अल्झने होइन।यो लुटेरा व्यवस्थाको जरोकीलो उखेलेर योभन्दा उन्नत र मानवीय व्यवस्था स्थापना गर्नेतिर सोच्नु पर्छ । समाज विकासको क्रम अनुसार त्यो व्यवस्था समाजवादी व्यवस्था हुनेछ। समाजवादी व्यवस्था अर्थात = वैज्ञानिक समाजवादी व्यवस्था।
साथीहरू ! मैले त हिजो एमाले र माओवादी केन्द्रलाई भोट हालेकोमा पश्चाताप गरें ।तपाईहरू अझै गौरव मान्ने पनि कोही हुनुहुन्छ र ?

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु