आप्रवासी शिविरमा आक्रमण : नेपालीसहित ४४ को मृत्यु

२०७६ असार १९ गते, बिहीबार

काठमाडौं, १९ असार । लिबियामा आप्रवासीको शिविरमा गरिएको आक्रमणमा परेर एक नेपालीको मृत्यु भएको र मारिनेमा नेपाली नागरिक सन्तोष श्रेष्ठ पनि रहेको पुष्टि भएको छ । इजिप्टको कायरोस्थित नेपाली दूतावासले पूर्वी त्रिपोलीस्थित तजौरा डिटेन्सन सेन्टरमा बुधबार बम आक्रमण हुँदा नेपाली नागरिक सन्तोष श्रेष्ठको मृत्यु भएको जनाएको छ ।
दूतावासले श्रेष्ठको मृत्यु भएकोबारे अन्तर्राष्ट्रिय आप्रवासी संगठनले पुष्टि गरेको भन्दै आफूहरुले यसबारे थप बुझ्ने प्रयास गरिरहेको जनाएको छ । आप्रवासी संगठनले उनलाई नेपाल फिर्ता गराउन दूतावाससँग ट्राभल डकुमेन्ट माग गरेकोमा दुई दिनअघिमात्रै आफूहरुले कुरियर गरेर आवश्यक डकुमेन्ट पठाइदिएको भएपनि दुर्भाग्यबस उनको आक्रमणमा मृत्यु हुन पुगेको दूतावासले जनाएको छ ।
कायरोस्थित दूतावासका अनुसार घटनामा मारिने आप्रवासीको संख्या १ नेपालिसहित ४४ पुगेको छ । ७६ जना जति घाइते भएका छन् । ८ जना नेपालीलाई टर्की हुँदै नेपाल पठाइएको दूतावासले जनाएको छ । आक्रमण विद्रोही समूहले गरेको हो । लिबियामा संयुक्त राष्ट्र संघीय शान्ति सेनामा नेपाली पनि संलग्न रहेका छन् । उनी नेपालमा कुन स्थानका हुन भन्ने चाहिँ खुलेको छैन ।
उद्वार हुनबाँकी ६ जना त्रिपोलीस्थित आईओएमको क्याम्पमा रहेको जनाइएको छ । त्यहाँबाट विगत २ महिनामा २६ नेपालीलाई उद्धार गरेर नेपाल फर्काइएको छ ।
मानव तस्करहरुले इटाली पुर्‍याउनका लागि लिबियाको मार्ग प्रयोग गर्ने गरेका छन् । लिबियामा खटिएका नेपाली शान्ति सेनाले मानव तस्करको जालमा परेर आइपुगेकालाई सहायता गर्दै आएको छ । लिबियाका नेता मोउमार गद्धाफीको मृत्युपछि सन् २०११ पछि लिबिया द्वन्द्वमा रहेको छ ।

प्रतिक्रियाहरु