आज संयुक्त राष्ट्रसंघको स्थापना दिवस

२०७३ कार्तिक ८ गते, सोमबार

काठमाडौं, ८ कात्तिक । आज संयुक्त राष्ट्रसंघ स्थापना दिवस । सन् १९४५ को अक्टोबर २४ का दिन संयुक्त राष्ट्रसंघको घोषणपत्र कार्यान्वयनमा आएसँगै राष्ट्रसंघको औपचारिक सुरुवात भएको थियो । यही दिनको सम्झनामा हरेक वर्षको अक्टोबर २४ लाई संयुक्त राष्ट्रसंघ दिवसको रुपमा मनाउने गरिएको छ । सन् १९४८ देखि राष्ट्रसंघका सदस्य राष्ट्रले यो दिवस मनाउँदै आएका छन् । दिवसको अवसरमा यो वर्षको नारा ‘पहिले स्वतन्त्रता’ भन्ने तय गरिएको छ ।
दिवसको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रसंघ महासचिव बान कि मुनले विश्वमा मानवीयता र शान्ति स्थापनाका लागि एकजुट हुनु पर्ने सन्देश राष्ट्रसंघले दिएको बताए । राष्ट्रसंघले आफ्नो ७१ वर्षको इतिहासमा मानवीयताको रक्षा तथा समस्यामा परेका समुदायको सुरक्षा र शान्तिका लागि काम गरेको महासचिव बानले स्मरण गरेका छन । सबैको स्वच्छ र स्वस्थ भविष्यका लागि एकजुट भएर काम गर्नु पर्नेमा उनले जोड दिए ।
संयुक्त राष्ट्रसंघमा अहिले एक सय ९३ सदस्य राष्ट्र छन् । नेपाल सन् १९५५ मा संयुक्त राष्ट्रसंघको सदस्य बनेको थियो । विश्वमा अहिले ८३ करोड ६० लाख मानिस गम्भीर भोकमरीको अवस्थामा रहेकाले उनीहरुलाई भोकमरीको अवस्थाबाट बाहिर ल्याउन सहयोग गर्नु पर्नेमा राष्ट्रसंघले जोड दिएको छ ।
यसका लागि आफूले सकेको जति सहयोग गर्न आग्रह गरिएको छ । राष्ट्रसंघले ७१ वर्ष पुगेको अवसरमा दीगो विकास लक्ष्य २०३० का १७ वटा लक्ष्यको परिपूर्तिका लागि ध्यान केन्द्रित गर्न सबैमा आग्रह पनि गरेको छ ।

प्रतिक्रियाहरु