आज श्रीपञ्चमी : सरस्वतीको पूजाआराधना गरी मनाइँदै

२०७६ माघ १६ गते, बिहीबार

काठमाडौं , १६ माघ । आज माघ शुक्लपञ्चमी हरेक वर्ष झैँ आज विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको पूजाआराधना गरी मनाइँदैछ । वसन्त पञ्चमीका दिन देशभरीका सरस्वती मन्दिरमा गई देवी सरस्वतीको पूजाआराधना गरी विद्या र वुद्धिको लागि कामना गरिने प्रचलन रहीआएको छ । यस दिन सरस्वतीको पूजा गरे विद्या र बुद्धि बढ्ने विश्वास गरिन्छ । हिन्दू धर्मावलम्बीको धार्मिकग्रन्थ पुराणमा उल्लेख भएअनुसार माघ शुक्ल पञ्चमी तिथिका दिन ब्रह्माले सृष्टिमा देवी सरस्वतीलाई आह्वान गरेपछि सरस्वती अवतरित हुनुभएको विश्वास गरिन्छ।विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ। आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने जनविश्वास छ। आजका दिन विद्यार्थी, कर्मचारीका साथै कलमजीवीले यस पर्वलाई उत्सवको रुपमा मनाउने गर्छन् । शिशुको अन्नप्रासनसमेत विधिपूर्वक गराइन्छ। आजका दिनमा विवाह, नयाँ भवनमा बासलगायतका शुभकार्यका लागि साइत हेर्नु नपर्ने मान्यता छ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु