आज विश्व मधुमेह दिवस

२०७५ कार्तिक २८ गते, बुधबार

काठमाडौं, २८ कात्तिक । आज नोभेम्बर १४ , विश्व मदुमेह दिवस । ‘मधुमेह ः हरेक परिवारको सरोकार’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गरि मनाइदै छ । मधुमेह भएका परिवारले एउटै किसिमको खाना खानुपर्ने तथा जटिल हँुदै गएको मधुमेहलाई रोक्न परिवारसँंग गाँसेर विश्व मधुमेह दिवस मनाउन लागिएको हो । नेपालमा कुल जनसंख्याको १० प्रतिशत मानिस मधुमेहबाट पीडित रहेको अनुमान गरिएको छ । हरेक परिवारका कुनै न कुनै सदस्य मधुमेहबाट पीडित हुने गरेको छ ।
वरिष्ठ मधुमेह रोग विशेषज्ञ डा. ज्योति भट्टराईले नेपालमा मधुमेहको खास तथ्याङ्क नभएपनि विश्व स्वास्थ्य संगठनको आँकडा अनुसार १० प्रतिशत मानिसलाई मधुमेह रहेको आँकलन गरिएको जानकारी दिए । डा. भट्टराईले मधुमेह नेपालमा मात्र नभएर संसारभरि नै प्रकोपको रूपमा अगाडि बढिरहेको भन्दै यसलाई नियन्त्रण गर्न जनचेतना जगाउनुपर्ने बताए । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा १७ करोड १० लाख मानिसमा मधुमेह देखिएको छ ।
मधुमेह वंशाणुगत रोग भएकाले मधुमेह भएका बाबुआमाका छोराछोरीलाई पनि यो रोग हुनसक्ने चिकित्सकहरुको भनाई छ । बढी तौल भएका मानिसमा सामान्य तौल भएका मानिसभन्दा बढी मधुमेह देखिने गरेको छ ।
यस्तै धेरै चिन्ता गर्ने व्यक्तिलाई पनि मधुमेहले सताउन सक्ने छ । खानपानको वातावरण, जङ्कफुड खाने बानी, बिना परिश्रमको शहरी जीवन, मोटोपन आदि मधुमेह लाग्ने मुख्य कारकतत्व रहेको चिकित्सकहरुको भनाइ छ ।
अधिकांश मधुमेह रोगीलाई आफूलाई रोग लागेको पत्तो नहुने भएकाले समय समयमा स्वास्थ्य परीक्षण गरीरहन चिकित्सको सुझाव छ । चिकित्सहरुको अनुसार यसवाट बच्न बच्न नियमित व्यायाम गर्नुपर्ने, सन्तुलित भोजनको प्रयोग गर्ने, रोग लाग्नासाथ यसलाई नियन्त्रणमा राख्नुपर्ने छ । मधुमेहलाई हेलचेक्राईं गरेर बस्दा मिर्गौला ‘फेल’ हुने, मुटुको रोग, पक्षघात, अन्धोपन, अल्सरजस्ता रोगले सताउँदै जाने भएकाले मधुमेह भएको अवस्थामा बढी सतर्कता अपनाउनु जरुरी छ ।

प्रतिक्रियाहरु