आज विश्व क्यान्सर दिवस

२०७६ माघ २१ गते, मंगलवार

काठमाडाैँ, २१ माघ । आज विश्व क्यान्सर दिवस, ‘म हुँ र म गर्छु’ भन्ने मूल नाराका साथ नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ ।दिवसका अवसरमा स्वास्थ्य मन्त्रालय र क्यान्सर रोग निवारणका क्षेत्रमा काम गर्ने संघसंस्थाहरुले विभिन्न कार्यक्रम आयोजना गर्ने भएका छन् । हरेक वर्ष फेब्रुअरी ४ तारिखमा विश्व क्यान्सर दिवस मनाउने गरिन्छ । वर्षेनी विश्वभर लाखौं मानिसकाे क्यान्सरका कारणले मृत्यु हुने गर्छ । यसै कुरालाइ ध्यानमा राखी जनजागरण अनि उपचारका माध्यमबाट मृत्युबाट जोगाउने हेतुले क्यान्सर दिवस मनाइन्छ । यस दिन क्यान्सरविरुद्धको जागरण कसरी फैलाउन सकिन्छ भनी विश्वस्तरमै छलफल तथा विभिन्न कार्यक्रमहरू गरिन्छ ।
पछिल्लो समय नेपालमा फोक्सो, मुख , घाँटी, पाठेघर र स्तनको क्यान्सरका बिरामी बढ्दै गएका छन् । नेपालमा वार्षिक झण्डै ११ हजार नयाँ क्यान्सरका बिरामी देखापर्ने गरेको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । तर चिकित्सकहरूले भने नेपालमा वर्षेनी ४० हजार नयाँ क्यान्सर रोगी थपिने अनुमान गर्दै आएका छन् । ती मध्ये मुस्किलले १० प्रतिशत मात्र उपचारका लागि अस्पतालमा पुग्ने गरेका छन् । नेपालमा हाल जनसंख्याको आधारमा करीव ६५ हजार क्यान्सरका रोगी रहेकाे अनुमान छ ।

प्रतिक्रियाहरु