आज विश्व औलो दिवस

२०७५ बैशाख १२ गते, बुधबार

काठमाडौं, १२ वैशाख । आज विश्व औलो दिवस । ‘हाम्रो सक्रियता, औलो निवारणमा सफलता’ भन्ने नारासहित नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले बुधबार राजधानीमा गरेको कार्यक्रममा औलो रणनीतिक योजना २०१४–२०२५ को कार्यान्वयन सुरु भइसकेको जानकारी दिइयो । औलोरोगको प्रमुख सूचक मानिने वार्षिक परजीवी दर ‘एपीआई’लाई प्रतिहजारमा एकभन्दा कमबाट बढ्न नदिइ सन् २०१८ सम्ममा बिरामीको संख्या ९० प्रतिशतले घटाउने र औलो संक्रमण भएका जिल्लाको संख्या ७० प्रतिशतले घटाउने लक्ष्य लिइएको छ ।
कार्यक्रममा स्वास्थ्य सेवा विभागका प्रमुख डा. गुणराज लोहनीले औलोरोग नियन्त्रण कार्यक्रम सन्चालन भएपनि औलो समस्या भने निवारण हुन नसकेको गुनासो गरे ।
यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. सुशील प्याकुरेलले जलवायु परिवर्तनका कारण चिसो मौसममासमेत लामखुट्टेको समस्या देखापर्न थालेको बताए । हाल ‘क्लिनिकल’ औलो बिरामीको संख्या ३ हजार ९०४ रहेको र वर्षेनि १ हजार १२८ जनामा औलो देखिने गरेको सरकारी तथ्यांक छ ।
एनोफिलिज जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने औलोरोगबाट विशेषगरी गर्भवती महिला र पाँच वर्षमुनिका बालबालिकाहरु बढी प्रभावित हुन्छन् । तराई र भित्री मधेसका जिल्लाहरुमा औलोरोगको संक्रमण बढी देखिने गरेको छ ।

प्रतिक्रियाहरु