आज राष्ट्रिय पत्रकारिता दिवस

२०७५ बैशाख २४ गते, सोमबार

काठमाडौं, २४ बैशाख । आज राष्ट्रिय पत्रकारिता दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । १९५८ साल वैशाख २४ गते गोरखापत्र प्रकाशन भएको मितिलाई आधार मानेर सरकारले हरेक वर्ष वैशाख २४ गते यो दिवस मनाउने गरेको छ । तीन वर्षअघि देखि सरकारले यो दिनलाई राष्ट्रिय दिवसका रुपमा मनाउन थालेको हो । दिवसका अवसरमा सरकारले वरिष्ठ सञ्चारकर्मीहरुलाई सम्मानसमेत गर्दै छ ।
सरकारले यो वर्षको राष्ट्रिय पत्रकारिता पुरस्कार २०७४ ईमेज च्यानलका समाचार प्रमुख डा. महेन्द्र विष्ट र पत्रकार डा. राजेश अहिराजलाई प्रदान गर्नेभएको छ । डा. विष्ट नेपाल पत्रकार महासंघका पूर्वअध्यक्षसमेत हुन । यस्तै, वरिष्ठ पत्रकार सम्मान २०७४ पत्रकारहरु बबिता बस्नेत, कौशल चेम्जोङ र निमबहादुर बुढाथोकीलाई प्रदान गरिने भएको छ । राष्ट्रिय पत्रकारिता दिवस २०७५ को अबसरमा आज राष्ट्रपति कार्यालय शितल निवासमा एक समारोहबीच राष्ट्रपति विद्या भण्डारीले पुरस्कार प्रदान गर्नु हुनेछ । पुरस्कारको राशी जनही दुई लाख रुपैंयाँ रहेको छ ।

प्रतिक्रियाहरु