आज रातिदेखि शुक्रबारसम्म वर्षा र हिमपातको सम्बाभाना

२०७६ माघ १ गते, बुधबार

काठमाडौं, १ माघ । मौसम पूर्वानुमान महाशाखाले आज रातिबाट मौसममा पुनः बदलाब आउने जनाएको छ । महाशाखाका अनुसार, शुक्रबारसम्मै देशभर बदली, वर्षा र हिमपात हुने सम्भावना छ । आज साँझबाट पश्चिम न्यून चापीय प्रणाली नेपाल प्रवेश गर्न लागेकाले फेरि वर्षा र हिमपात हुन लागेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले जानकारी दिए । आज राति देशको पश्चिम क्षेत्रबाट प्रवेश गर्ने पश्चिम न्यून चापीय प्रणाली केही सशक्त हुने र त्यसले भोलि र पर्सि पहाडी भेगमा वर्षा तथा हिमाली भेगमा हिमपात हुनसक्ने मौसमविद् पौडेलले बताए ।
नयाँ मौसमी प्रणालीका कारण बिहीबार मध्य, पश्चिमी पहाडी र तराईका एक(दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ । पूर्वी भागमा भने हल्का वर्षा र हिमपातको सम्भावना छ । यस प्रणालीको प्रभाव देशभर शुक्रबारसम्म नै रहने र शुक्रबारसमेत वर्षा र हिमपात हुने भएकाले सतर्क हुन मौसम पूर्वानुमान महाशाखाले सबैमा आग्रह गरेको छ । शनिबारबाट भने मौसम सुधारिने मौसमविदको प्रक्षेपण छ । यस वर्षको हिउँदमा मौसम छिटो छिटो परिवर्तन भइरहेको छ ।
मौसमविद् वरुण पौडेलका अनुसार मौसमी प्रणाली भित्रिने र बाहिरिने क्रम छिटो छिटो भइरहेकाले घाम लाग्ने र पानी पर्ने शृंखला सँगसँगै चलिरहेको छ । नेपालमा भित्रिने मौसमी प्रणालीको स्रोत भूमध्य सागर हो । यहाँबाट बहने हावा सोझै नेपालतर्फ बहँदा त्यसको असर बढी पर्ने र अन्यत्र मोडिँदा प्रभाव कम हुने मौसमविद् बताउँछन् ।

प्रतिक्रियाहरु