आज महाशिवरात्रि

२०७६ फाल्गुन ९ गते, शुक्रबार

काठमाडौं, ९ फागुन । आज फागुनकृष्ण चतुर्दशी अर्थात महाशिवरात्रि पर्व देशभरका शिवालयमा भगवान् शिवको पूजा अर्चना र रुद्राभिषेक गरी मनाइँदैछ । यो पर्व नेपाललगायत भारतका विभिन्न स्थानमा धुमधामसाथ मनाइन्छ ।
शिवरात्रिलाई भगवान् शिवजीको जन्मदिनका रूपमा लिइन्छ । सनातन हिन्दु धर्मावलम्बीहरूले आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धाभक्तिपूर्वक पूजाराधना गर्छन् । यस पर्वलाई सम्पूर्ण दीन दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने गरिन्छ ।
आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजार्चना गरी व्रत बस्ने र शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ । आज भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गरिन्छ । यस पर्वका दिन उपवास गरी ऊँ नमः शिवायू मंत्र जप्ने गरेमा सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ । शिवले अवतार लिएको रातलाई नै शिवरात्रि भन्ने गरिएको विश्वास गरिन्छ । पशुपतिलगायत शिव मन्दिरहरूमा बिहान सबेरैदेखि भक्तजनको घुइँचो लाग्ने गर्छ । शिवरात्रिका दिनमा पशुपतिनाथका चारवटै ढोका खुला गरिन्छ । यस दिन पशुपतिनाथलाई दिनमा पञ्चामृत र रातलाई प्रथम, द्वितीय, तृतीय र चतुर्थ प्रहरमा क्रमश: दूध, दही, घिउ र महले स्नान गराउने परम्परा छ । कैलाशकूट र किराँतेश्वर सङ्गीत आश्रममा शास्त्रीय नाचगान गरिन्छ । महादेवको दर्शन गर्न र शिवरात्रि पर्वको मेला भर्न आज देशभरका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लाग्छ ।
पशुपति क्षेत्रमा मेला भर्न आउने भक्तजनको सुविधाका लागि यस वर्ष विशेष प्रबन्ध मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यस वर्ष पशुपतिमा गाँजा, भाङ, धतुरोलगायत लागुपदार्थ निषेध गरिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चार लाख राष्ट्रिय परिचयपत्र वितरण

२०८१ बैशाख १३ गते, बिहीबार

१३ जना जुवाडे पक्राउ

२०८१ बैशाख १३ गते, बिहीबार

डोल्पामा यार्सा सङ्कलन खुला हुँदै

२०८१ बैशाख १३ गते, बिहीबार