आज भारी वर्षा हुने सम्भावना , सतर्क रहन आग्रह

२०७६ असार ८ गते, आईतवार

काठमाडौँ , ८ असार । मौसम पूर्वानुमान महाशाखाले आज देशका पश्चिमी र मध्य भूभागका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहको जनाएको छ । त्यस्तै देशका अन्य केही मध्य र पश्चिमी भूभागहरुमा सामान्यदेखि पूर्ण बदलि तथा पूर्वी भेगमा आंशिकदेखि सामान्य बदली रही पूर्वका केहि स्थानहरुमा साथै मध्य तथा पश्चिमका धेरैजसो स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । यो क्रम अझैँ २ दिन रहने भएको छ । पहिरोले नारायणगढ मुग्लिन सडकको जलविरे खण्डमा एकतर्फी मात्रै यातायात सञ्चालन भइरहेको छ । यसबीच भारी वर्षाले कतिपय ठाउँमा बाढीपहिरोसमेत जान सक्ने सम्भावना रहेको कारण सतर्क रहन मौसम विभागले आग्रह गरेको छ ।
बेलुकी पखसमेत देशको पश्चिमी भूभागहरुमा सामान्यदेखि पूर्ण बदलि तथा पूर्वी र मध्य भेगमा आंशिकदेखि सामान्य बदली रही पुर्वका तथा मध्य थोरै स्थानहरुमा साथै पश्चिमका केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
उच्च हिमाली भूभाग हरुमा हिमपातको सम्भावना समेत रहेको छ । उच्च हिमाली भूभागहरुको थोरै स्थानहरुमा हिमपात हुनसक्ने भएका कारण सो क्षेत्रमा सावधानी अपनाउनु पर्नेछ । पश्चिम पोखरा, सुर्खेतलगयात, मध्य काठमाडौंलगायत तथा पूर्व धनकुटालगायत क्षेत्रमा बिहानैदेखि वर्षा भइरहेको मौमस पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् । बिहीबार पूर्वी क्षेत्रबाट प्रवेश गरेको मनसुन सक्रिय बन्दै गएपछि वर्षा सुरु भएको हो। मौसमविद् कँडेलका अनुसार मनसुनी प्रणाली पूर्वबाट मध्य हुँदै पश्चिमसम्म फैलने क्रममा छ।

प्रतिक्रियाहरु