आज प्रजातन्त्र दिवस

२०७४ फाल्गुन ७ गते, सोमबार

काठमाडौं, ७ फागुन । आज फागुन ७ अर्थात् प्रजातन्त्र दिवस । २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना भएको दिनको सम्झना गर्दै आज देशभर विभिन्न कार्यक्रम गरी ६८ औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदैछ । फागुन ७ मा प्रजातन्त्र स्थापना भएको सम्झनामा सरकारले प्रत्येक वर्ष राजधानीको टुँडिखेलमा औपचारिक कार्यक्रमको आयोजना गरी विशेष रुपमा यो दिवस मनाउँदै आएको छ । दिवसका उपलक्ष्यमा सार्वजनिक बिदासमेत दिने गरिएको छ । १ सय ४ वर्षीय जहानियाँ राणा शासनको विरुद्धमा जनताले आन्दोलन गरी रगत बगाएपछि राणा शासकले जनतासमक्ष घुँडा टेक्न बाध्य भयो र प्रजातन्त्र स्थापना भएको घोषणा गरियो ।
तत्कालीन राजा त्रिभुवनको घोषणापछि राणा र नेपाली काँग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शासनकालको सूत्रपात भएको थियो ।प्रजातन्त्र स्थापनाका लागि भएको संघर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठले १९९७ साल माघमा बलिदानी दिएका थिए ।
प्रजा परिषद् नामक राजनीतिक दल भूमिगत रुपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि जनतामा जागरण ल्याएको अभियोगमा उनीहरूलाई मृत्युदण्ड दिइएको थियो । २००० सालपछि स्थापना भएको नेपाल प्रजातन्त्र कांग्रेस र नेपाल राष्ट्रिय कांग्रेसको २००६ सालमा एकीकरणपछि नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले नेपालमा २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना गरेको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु