आज जुडशीतल पर्व

२०७५ बैशाख २ गते, आईतवार

काठमाडौं, २ वैशाख । बढ्दो गर्मी र लगातार बहँदो तातो हावा चलिरहेको अहिलेको मौसममा मिथिलामा आज जीवनमा शीतलताको कामना गर्दै ‘जुडशीतल’ मनाइँदै छ । घरपरिवारका श्रेष्ठजनले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शीतलता र दीर्घ जीवनको आशीर्वाद दिँदै जुडशीतल पर्व मनाउँदै छन् ।
वैशाख संक्रान्तिअर्थात् नयाँ वर्ष प्रारम्भ भएकै दिन जुडशीतल पर्व शुरु गरिन्छ । पहिलो दिन चना (बदाम), जौ, मकै, कँगनो, गहुँ, चामल र मुँगसहित सातथरि खाद्यान्नको सातु र माटोको अङ्खरामा सखरको सर्वत बनाएर कूलदेवतालाई चढाएपछि कूलपुरोहित, ब्राह्मण र साधुलाई दान गरिन्छ । बढ्दो गर्र्मीमा शीतल दिने चना, मुँग र जौका परिकार यस पर्वमा विशेष मानिन्छन् । पहिलो दिन सातु र सर्वत दान दिएर यिनै परिकार खाइने विधिलाई मिथिलामा ‘सतुवाइन’ भन्ने गरिएको छ ।
पर्वको दोस्रो दिनअर्थात् आज घर÷घरमा श्रेष्ठ सदस्यले घरपरिवारका श्रेष्ठजनले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शीतलता र दीर्घ जीवनको आशीर्वाद दिने गर्दछन् । नयाँ वर्षले जीवनमा शीतलता प्रदान गर्न सकोस् भन्ने पर्वको मुख्य सन्देश रहेको मिथिला संस्कृति र परम्पराका ज्ञाताको भनाइ छ । यसै सन्देशको पृष्ठभूमिमा गर्मी मौसमको यस पर्वमा चना (बदाम) को सातु, दाल, सोहिजन (मुन्गा) को तरकारी, बदामको पिठोबाट बनाइएको बरी र दही मथेर करी (कढी) पकाएर खाने परम्परा रहेको महोत्तरीको मटिहानीस्थित याज्ञबल्क्य लक्ष्मीनारायण विद्यापीठका उपप्राध्यापक ध्रुव राय बताउँछन् । सहकालको प्रतीक मानिने यस पर्वमा वर्षभरि अनुकूल वर्षाको कामना गर्दै मैथिल (मिथिलावासी) आज मध्याह्न साथीसंगीबीच धुलो माटो र हिलो छ्यापाछ्याप गर्ने तयारीमा छन् । जुडशीतल पर्वमा आफ्ना खेतबारीका रुख बिरुवामा पानी सिञ्चित गरेर कहिल्यै पनि आवश्यक चिस्यानको कमी नहोस् भन्ने कामना गरिन्छ । मिथिलामा सबै जाति समुदायले मनाउने यो पर्वको आपसी सद्भाव, हेलमेल र सहकार्य मुख्य सन्देश रहेको साहित्यकार महेश्वर राय बताउँछन् । -रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चैते छठ पर्व मनाइँदै

२०८१ बैशाख २ गते, आईतवार