आज चौंथौ राष्ट्रिय कर दिवस

२०७२ मंसिर १ गते, मंगलवार

काठमाडौं, १ मंसिर । समृद्ध राष्ट्र निर्माण र फराकिलो कराधारः करदाता मैत्री एवं सुदृढ कर प्रणाली पूर्वाधार भन्ने नाराका साथ आज चौंथौ राष्ट्रिय कर दिवस मनाईंदैछ । २०५४ मंसिर १ गते मूल्य अभिवृद्धि कर (भ्याट) लागु भएको दिनको सम्झनामा हरेक वर्ष मंसिर १ गते राष्ट्रिय कर दिवस मनाउने गरिन्छ । दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेलले शुभकामना दिएका छन । अहिले भैरहेको आन्दोलन र नाकाबन्दीका कारण अर्थ व्यवस्थामा थप समस्या र चुनौती थपिएको भन्दै प्रधानमन्त्री ओलीले यो समस्या समाधानको लागि पनि कर प्रणाली सुधार, व्यावसायीकतामा विकास, कर कारोबारको पारदर्शितामा बृद्धि र कर प्रशासनमा सुधारसँगै राजश्व परिचालन गरी स्वाधिन अर्थतन्त्रको निर्माण गर्नुपर्नेमा जोड दिए ।
नेपालको कर प्रशासन निरन्तर सुधारको क्रममा रहेकाले फराकिलो कराधार निर्माण गर्ने, करको दायरा विस्तारमा अभिवृद्धि ल्याउने, विद्युतिय प्रणालीको प्रयोगद्धारा गुणस्तरिय सेवा प्रदान गर्ने लगायतका काम आन्तरिक राजश्व विभागले गरिरहेको विभागका सचिव राजन खनालले बताए ।
यसैबीच, आज ११ औँ कफी दिवस विभिन्न कार्यक्रम गरी मनाईंदैछ । हरेक वर्ष मंसिर १ गते कफी दिवस मनाउने गरिन्छ । दिवसको यस वर्षको नारा गुणस्तरीय कफी नर्सरी उत्पादनको आधार, आयात प्रतिस्थापनमा यसले पार्छ साकार भन्ने तय गरिएको छ ।
अहिले मध्यपहाडी क्षेत्रका ४१ जिल्लामा कफी खेती हुँदै आएको छ तर २३ जिल्लामा मात्र कफीको व्यावसायिक खेति हुने गरेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ । पछिल्ला वर्षमा कफी खेति विस्तार हुँदै गएपनि प्राविधिक ज्ञानको अभावका कारण किसानले उत्पादनलाई बढाउन सकेका छैनन । स्वदेश सहित विदेशमा नेपाली कफीको माग बढ्दै गएपनि निर्यातको मात्रालाई बढाउन नसकेको बोर्डले जनाएको छ ।
बोर्डका अनुसार आर्थिक वर्ष २०७१÷०७२ मा ४ सय ६३ टन कफीको उत्पादन भएको थियो । स्वेदेशी माग यो उत्पादन भन्दा धेरै भएकाले पूरा गर्न हम्मे हम्मे पर्ने बोर्डको भनाई छ । यस्तै बोर्डले मंगलबारदेखि लागु हुने गरी यो वर्षको कफीको मूल्य निर्धारण गरेको छ । ए ग्रेडको कफी प्रतिकिलो ८० रुपैयाँ र ब्रि ग्रेडको कफी प्रतिकिलो ७५ रुपैयाँ मूल्य निर्धारण गरेको बोर्डले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु