आज कृष्ण सेन स्मृति दिवस

२०७४ जेष्ठ १२ गते, शुक्रबार

काठमाडौं, १३ जेठ । आज जेठ १३ गते , १५ औं कृष्ण सेन इच्छुक स्मृति दिवस । आज देशैभरी विभिन्न कार्यक्रम गरी पत्रकार तथा साहित्यकार शहिद कृष्ण सेन इच्छुकको १५ औं स्मृति दिवस मनाइदैँछ । कृष्ण सेन इच्छुकको महेन्द्र पुलिस क्लबका तत्कालिन डिआइजी अमरसिंह शाह, तत्कालिन नगर प्रहरी प्रमुख बिक्रम सिंह थापालगायतको टोलीले २०५९ जेठ ६ गते गिरफ्तार गरी हिरासतमै चरम यातना दिएर हत्या गरेका थिए । सेन हत्याको १५ बर्ष पुगिसक्दा पनि घटनाको सत्यतथ्य छानबिन हुन सकिरहेको छैन । हत्यारालाई कार्वाही हुन सकेको छैन ।
निष्ठा र आदर्शको लागि राजनीति तथा पत्रकारिता गरेका सेन आज राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमै जनवादी आस्थाका केन्द्र बन्न पुगेका छन् । पटक–पटक प्रतिक्रियावादीका जेल र हिरासतमा बसेका सेन आफ्नो आदर्श जस्तै सादा जीवन जिउने गर्थे ।
वि.सं. २०१३ मा भारतको देहरादुनमा जन्मिएका कृष्ण सेन इच्छुक जनदिशा दैनिकका प्रधान सम्पादक थिए । सेनको पुर्खयौली घर अर्घाखाँची जिल्लाको जलुकेमा पर्दछ । उनले प्रारम्भिक शिक्षा दिक्षा दाङको लालमटियामा लिएका थिए । सामान्य लाहुरे परिवारमा जन्मिएका इच्छुकले आफ्नो काव्य यात्राको थालनी दाङबाट प्रकाशित हुने ‘युगबोध’ समाचारपत्रबाट गरेका थिए । उनको व्यक्तित्व बहुआयामिक थियो । उनी पत्रकार र साहित्यकार मात्र होइन शिक्षक, र सचेत राजनीतिकर्मी पनि थिए । उनी एउटा जनपत्रकार र जुझारु क्रान्तिकारी योद्धा थिए । मूलतः उनी नेपाली प्रगतिवादी काव्य फाँटमा आफ्नो स्थान निर्माण गर्न सफल रहे । उनी आफ्नो व्यक्तित्वको यस प्रमुख पक्षप्रति सधैँ सचेत पनि आफ्नो व्यक्तित्वको विविधता प्रति सधैँ सचेत रहे । परिणामतः उनको काव्य व्यक्तित्व खुम्चिएन, त्यो अझ फराकिलो र उर्वर हुँदै गयो । आफ्नो अढाई दशक लामो काव्य यात्रामा इच्छुकले नेपाली प्रगतिवादी काव्य फाँटलाई समृद्ध गर्न उल्लेखनीय योगदान गरेका छन् ।
शहिद कृष्ण सेन इच्छुकको संक्षिप्त परिचय :
नाम : कृष्ण सेन ‘इच्छुक’
जन्म : वि.सं. २०१३ कातिक ३
जन्मस्थान : भारतको देहरादुन
आमा : भीमकुमारी सेन
बुबा : यमबहादुर सेन
पत्नी : तक्मा केसी
छोरी : समीक्षा केसी
शिक्षा : बी.एड, एम.ए
आबद्धता :
अध्यक्ष, अखिल नेपाल जनसांस्कृतिक संघ
संयोजक, अ.ने.रा.स्व.वि.यु. केन्द्रीय समिति
क्षेत्रीय ब्यूरो सदस्य, नेकपा (माओवादी)
केन्द्रीय पार्षद्, प्रगतिशील लेखक संघ, नेपाल
केन्द्रीय पार्षद्, नेपाल पत्रकार महासंघ
सदस्य, दक्षिण एसियाली क्षेत्रीय पत्रकार संघ
प्रकाशित कृतिहरु :
शोकाञ्जली (२०४८)
इतिहासको यस घडिमा (२०५५)
बन्दी र चन्द्रागिरी (२०५७)
सम्पादन ः
कलम साहित्यिक त्रैमासिक,
जनादेश साप्ताहिक,
जनदिशा दैनिक, योजना आदि
पुरस्कार :
साहित्य सन्ध्या (२०५७)
पारिजात सिर्जनशील साहित्य पुरस्कार (२०५९)
कृष्णमणि साहित्य पुरस्कार (२०५९)
प्रगतिशील साहित्य पुरस्कार (२०६१) मरणोपरान्त
प्रेस सेनानी पुरस्कार (२०६५) मरणोपरान्त
जेल जीवन :
दाङ कारागार (६ वर्ष)
बन्दीगृह (१ वर्ष)
सिराहा र राजविराज (२ वर्ष)
शहादत : वि.सं. २०५९ जेठ १३
(महेन्द्र पुलिस क्लबको हिरासतमा)
शहादतपछि प्रकाशित कृतिहरु :
कृष्ण सेन ‘इच्छुक’ स्मृति ग्रन्थ
इच्छुक रचनावली भाग १,२,३
कवि इच्छुक कविताका सन्दर्भमा
आस्था र निष्ठाका शतिसाल इच्छुक ।

प्रतिक्रियाहरु