आजदेखि सुपथ मूल्य पसल सञ्चालन

२०७५ आश्विन १२ गते, शुक्रबार

काठमाडौँ, १२ असोज । आजदेखि उपत्यकासहित देशका विभिन्न ठाउँमा ४७ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने भएको छ । दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरेर उपत्यकासहित देशका विभिन्न ठाउँमा सञ्चालन हुने सुपथ मूल्यका पसल कात्तिक २७ गतेसम्म सञ्चालनमा ल्याइने जनाइएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको नेतृत्वमा साल्ट ट्रेडिङ कर्पाेरेसन, नेपाल खाद्य संस्थान र दुग्ध विकास संस्थानले केही ठाउँमा संयुक्त रूपमा राख्ने छन् भने धेरै ठाउँमा आ–आफ्नो तरिकाले सुपथ मूल्य पसल सञ्चालन गर्ने जनाइएको छ । विभागका महानिर्देशक योगेन्द्र गौचनले बजारमा प्रचलित मूल्यमा ५ देखि १० प्रतिशतसम्म छुट गरी सुपथ पसल सञ्चालनको तयारी भइरहेको तथा घुम्ती पसलसमेत सञ्चालन गरिने जानकारी दिए । उनका अनुसार सरकारी संस्थान मात्रै नभई विभागमा दर्ता भएर सञ्चालनमा रहेका सहकारी पसलले समेत छुट मूल्यका साथ सुपथ मूल्य पसलमा सहभागिता हुनेछन् । साल्ट ट्रेडिङले काठमाडौँ उपत्यकामा नौ स्थानमा स्टल सञ्चालन गर्नेछ । त्यस्तै तीनवटा घुम्ती पसलबाट नुन, चिनी बिक्री वितरण गर्नेभएको छ । उपत्का बाहिर भने आफ्नो डिपो तथा कार्यालय रहेका २४ स्थानबाट सामान बिक्री वितरण गर्ने साल्ट टे«डिङले जनाएको छ । साल्ट टे«डिङले नुन प्रतिकेजी दुई रुपियाँ, चिनी प्रतिकेजी पाँच रुपियाँ, तेल चामललगायतका वस्तुमा पनि छुटसहित बिक्री गर्ने जानकारी गराएको छ ।
नेपाल खाद्य संस्थानले पनि उपत्यकामा विभिन्न पाँच ठाउँ र देशभर रहेका आफ्ना गोदाम तथा कार्यालयबाट पनि सुपथ मूल्यमा खाद्यसामग्री बिक्री वितरण गर्ने भएका छन् । संस्थानले बासमती र गोरखनाथ चामलमा प्रतिकेजी १० छुट र मनसुली, जिरा मसिनो चामललगायतका चामलमा प्रतिकेजी पाँच रुपियाँ छुटसहित बिक्री गर्ने जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु