आजदेखि विस्केटजात्रा

२०७० चैत्र २७ गते, बिहीबार


काठमाडौं ,२७ चैत। भक्तपुरमा आठ रात नौ दिनसम्म मनाइने ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको बिस्केट जात्रा आज बिहान पाँच बजे भैरवको पूजा गरि सुरु भएको छ ।नयाँवर्षको चार दिन अगाडि सुरु भई बैशाखको ५ गतेसम्म सञ्चालन हुने जात्रा आठ रात नौ दिनसम्म धुमधामका साथ मनाइन्छ । पहिलो दिन भैरव र भद्रकालीको पूजा गरेपछि अपरान्हदेखि भैरवनाथ र भद्रकालीको रथ तानेर जात्रा मनाउने परम्परा छ ।
विस्केट अर्थात “सर्प मारियो” भन्ने अर्थमा नेवार समुदायमा मनाइने यो जात्रामा तान्त्रिक विधि अनुसार निर्माण गरिएको भैरव र भद्रकालीको रथ तौमढीबाट क्वाछें, साकोथा, सुकुलढोका, गोलमढी पुर्‍याइ फर्काउने चलन छ ।
भैरवनाथको रथमा तलेजुका पुजारी उत्तमाङ्गराज राजोपाध्याय र तलेजुका नाइके नरेन्द्र जोशीले खड्ग, तरबार, निशान राखिसकेपछि गुठी संस्थानबाट लगिएको सरकारी पूजा सकेर रथ तान्न सुरु गरिन्छ । चैत मसान्तमा इन्द्रध्वजा सहित उठाइने लिङ्गो वैशाख १ गते साँझ ढालेपछि भेलुखेलमा भव्य मेला लाग्छ । नागनागिनीसँग जोडिएको यो जात्रालाई नेवारी भाषामा बीःसित (नाग मर्‍यो), बीय जात्रा ९नागको जात्रा०, वीःस्यात (नाग मारियो) हुँदै पछि विश्वजात्रा, भई अपभ्रंशबाट विस्केट जात्रा हुन गएको स्थानीय बुढापाकाहरू बताउँछन् ।
अजिङ्गरको स्वरूप हुने नागनागिनी मारिएको खुसीयालीमा यो जात्रा मनाउन थालिएको हो । जात्राको अन्तिम दिन बैशाख ५ गते प्रसिद्ध पाँचतले मन्दिरमा रहेको तौमढीे भैरवको रथ तानेर बेताली भैरवको मुख्य देउतालाई पूजा गरी भैरव मन्दिरमा भित्र्याएपछि जात्रा सम्पन्न गरिन्छ ।
२० वर्षयता रथ तान्दा झगडा हुने र ढुङ्गा प्रहार गर्ने परम्परा बसेपछि यसलाई रोक्न यसवर्ष भक्तपुर जिल्ला प्रशासन र प्रहरीले सुरक्षामा कडा नीति अगाडि सारेका छन् । तल्लो टोल र माथिल्लो टोलका बासिन्दाले रथलाई आ–आफ्नो टोलमा लैजान खोज्दा ढुङ्गा हानाहान हुने गर्छ । झगडा हुन नदिन यसवर्ष १३ सय भन्दा बढी सुरक्षाकर्मी खटाइएको र ८ वटा सिसी क्यामरा जडान गरिएको छ । झगडा गर्नेको पहिचान गरी सार्वजनिक मुद्धा लगाएर कारबाही गर्ने प्रहरी उपरीक्षक जगतमान श्रेष्ठले बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु