आजदेखि फ्री भिसा

२०७२ श्रावण १० गते, आईतवार

काठमाडौं,१० साउन । सरकारले लागू गरेको फ्री भिसा र फ्री टिकटको प्रावधानलाई स्वीकार गर्न मेनपावर व्यवसायीहरु सहमत भएका छन् । यस बिषयमा शनिबार राति सरकारसँग २५ बुँदे सहमति भएको छ । सहमतिपछि आजदेखि मेनपावर कार्यालयहरु खुल्ने भएका छन् । ) सरकार र व्यवसायीवीच भएको सहमतिअनुसार तीन महिनाका लागि परीक्षणका रुपमा फ्री भिसा र फ्री टिकटको प्रावधानलाई मान्न मेनपावर व्यवसायी सहमत भएका हुन् । तर, यसका लागि सरकारी निर्णयबारे अध्ययन गर्न एक कार्यदल गठन गरिनेछ । कार्यदलले खाडी मुलुकका ६ देशहरु र मलेसियामा स्थलगत भ्रमण गरेर प्रतिवेदन तयार पार्नेछ । कार्यदलले तयार पारेको सोही प्रतिवेदनअनुसार तीन महिनापछि फ्री भिसा र फ्री टिकटको सरकारी निर्णय कार्यान्वयन हुने/नहुनेबारे टुंगो लाग्ने नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव रोहन गुरुङ्गले बताए । ‘वैदेशिक रोजगार भोलि (आइतबार) बाट सुचारु हुन्छ’ महासचिव गुरुङले भने,’ व्यवसायीहरुले फ्री भिसा र फ्री टिकट तीन महिनाका लागि परीक्षणका रुपमा स्वीकार गर्नेछन्, तीन महिनापछि स्थलगत प्रतिवेदनअनुसार परिमार्जन वा स्थगन हुनेछ ।’
नेपाल सरकारले असार २१ गतेदेखि खाडी देशका ६ वटा र मलेसिया गरी ७ देशमा फ्री भिसा र फ्री टिकटको प्रावधान लागू गरेपछि मेनपावर व्यवसायीहरु आन्दोलनमा उत्रिएका थिए । व्यवसायीहरुको आन्दोलनका कारण मेनपावर कार्यालयहरु बन्द भएका थिए । सरकारले फ्री भिसा विना श्रम स्वीकृति नदिएको र मेनपावर कार्यालयसमेत बन्द रहेकाले हजारौं नेपाली कामदारहरु विदेश जान पाएका थिएनन् । यो अवरोध आजवाट हट्ने भएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु