आउनुस् कामरेड आउनुस्,मिलिजुली देशको काट्टो खानु पर्छ – उमेश राई

२०७३ श्रावण ११ गते, मंगलवार

आउनुस् कामरेड आउनुस्
मिलिजुली देशको काट्टो खानु पर्छ
बाहिर राष्ट्रियताको हल्ला चलाउँनु पर्छ
भित्र बिखण्डनको आगो जलाउँनु पर्छ।
आउनुस् कामरेड आउनुस्
मिलिभगतमा देशको काट्टो खानु पर्छ
बाँदरको हुल लखेट्नु पर्छ
पाकेको आँप झार्नु पर्छ
पहिचानी गुन्द्रुकको अचार खाँदै
बैल गाडामा अमेरिका पुग्नु पर्छ ।
आउनुस् कामरेड आउनुस्
राष्ट्रवाद र बिकासे हल्ला गरी गरी
यी भोटबैंकहरुलाई अलमलाउनु पर्छ।
हामी भने बालकोट/लाजिम्पाट तिर
आलिसान महल ठड्याउनु पर्छ ।
आउनुस् कामरेड आउँनुस्
देशको काट्टो खानु पर्छ।
मौरी भनी स्वाँठे तिख्रेलाई
अरिंगालको गोलामा भिडाउनु पर्छ
हामी भने पालै पालो
सत्ताको महमा डाडु मनग्गे डुबाउनु पर्छ।
खर्पनेलाई ससुरा बनाउनु
आगामी पुस्तालाई पनि सिकाउनु पर्छ ।
आउनुस् कामरेड आउनुस्
मार्क्सको नाममा दुना
माओको नाममा टपरी
लेनिनको नाममा अंखोरा बनाई
आफ्नो भाग सोझ्याउनु पर्छ
आउनुस् कामरेड आउनुस्
यो देशको काट्टो खानु पर्छ।
झलनाथ होस् या मलनाथ
गुग्गल होस या सुग्गल
प्रतिस्ठान नाना खोलेर
राज्यकोष ढुट्यानु पर्छ
आफ्नो भाग उठाउनु पर्छ
आउनुस् कामरेड आउनुस्
देशको काट्टो खानु पर्छ ।
बाजेहरुले उडाए कोशी
हाम्रै कमाल हो टनकपुर महाकाली
भरखरै त बडे भाईको सुम्पिएको हो कर्णाली
उस्तै परे अझै पनि छँदै छ नि सगरमाथा र लुम्बिनी
आउनुस् कामरेड आउनुस्
सहमतिको नाममा आलोपालो
सत्ताको धुनी जगाउनु पर्छ
स्वाँठे तिघ्रे खर्पनेलाई
सधै हतियार बनाउनु पर्छ
आउनुस् कामरेड आउनुस्
देशको हरेक तह तप्कामा
आफ्नोको भर्तिकेन्द्र खोल्नु पर्छ।
आउनुस् कामरेड आउनुस्
जनताको पसिना पड्काउनु पर्छ ।
देखावटी हलो अड्काउनु पर्छ ।
भित्रभित्रै मिलिजुली आ-आफ्नो भकारी भराउनु पर्छ
आउनुस् कामरेड आउनुस्
यो देशको काट्टो खानु पर्छ ।
मरे मर्छ्न् त जनताहरु
हामी चाहिँ टन्न डकार्नु पर्छ
आउनुस् कामरेड आउनुस्
गालाको लाली चम्काउनु पर्छ
पेटको लाम्टा बढाउनु पर्छ
कुट्ने रुनेको नाटक गदै
स्वाँठे तिघ्रे खर्पने अलमलाउनु पर्छ।
बिकाउ जति किन्नु पर्छ
देखाउनलाई पनि हेर भन्दै
केहिलाई गिन्नीपिग बनाउनु पर्छ
पिजरामा राखेर मैना बनाई
जयजय बोल्न लाउनु पर्छ ।
अनि हिज जस्तै आज जस्तै भोलि
यो देश सधै चुस्नु पर्छ
आउनुस् कामरेड आउनुस्
यो देशको काट्टो खानु पर्छ ।

प्रतिक्रियाहरु