आईतबार उपत्यका बन्द

२०७५ आश्विन ६ गते, शनिबार

काठमाडौं, ६ असोज । सरकारले पटक–पटक सर्वोच्च अदालतको आदेशको उल्लंघन गर्दै नेकपाका नेतालाई अदालत परिसरबाटै गिरफ्तार गर्ने र भूmठा मुद्दामा फसाउने क्रमलाई निरन्तरता दिएपछि नेकपाले आज उपत्यका बन्दको घोषणा गरेको छ । पार्टीका प्रवक्ता प्रकाण्डलगायत पोलिटव्युरो सदस्यहरु, केन्द्रीय सदस्यहरु तथा सबै तहका नेता–कार्यकर्ताको गैरकानुनी तथा गैरन्यायिक गिरफ्तारी गरेको भन्दै उपत्यका बन्दको घोषणा गरेको हो । गिरफ्तारीमा परेका नेता–कार्यकर्ताहरूलाई यथाशीघ्र ससम्मान रिहाइको माग गर्दै उक्त बन्दको कार्यक्रम घोषणा गरेको नेकपा उपत्यका विशेष ब्युरोले जनाएको छ । नेकपा उपत्यका विशेष ब्युरोका इन्चार्ज प्रज्वालले हस्ताक्षर गरेको प्रेस विज्ञप्ति जारी गर्दै प्रवक्ता प्रकाण्डलगायत नेताहरूलाई पटक–पटक गिरफ्तारी गर्ने र जिल्ला–जिल्ला घुमाउने काम गरिरहेकोमा घोर विरोध तथा भत्र्सना गरेका छन् । इन्चार्ज प्रज्वलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ओली–प्रचण्ड सरकारले नेपाललाई यतिखेर अघोषित रूपमा युद्धग्रस्त क्षेत्र बनाइरहेका छन् । ओली सरकारद्वारा नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा पार्टी प्रवक्ता कमरेड प्रकाण्ड, पोलिटब्युरो सदस्यहरू कमरेड पदम राई, शिलु, जीवन्त, गम्भीर, ओमप्रकाश पुन, केन्द्रीय सदस्यहरू दिपेश, सुमन, आजाद, असल, देवनाराण शाहलगायत सयौं राजनीतिकर्मीलाई विभिन्न झुट्टा मुद्दामा जेल तथा हिरासतमा राखिरहेको छ । यो सरकारले आफ्नै अदालतको आदेशको समेत घोर अवहेलना हुनेगरी हाम्रो पार्टीका प्रवक्तालगायत नेताहरूलाई पटक–पटक गिरफ्तारी गर्ने र जिल्ला–जिल्ला घुमाउने काम गरिरहेको छ । राज्यको यस किसिमको निरङ्कुशता तथा अराजकताको हामी घोर विरोध तथा भत्र्सना गर्दछौँ ।’
नेता प्रज्वलले उपत्यका बन्द सफल बनाउन आमजनसमुदायलाई अपिल गर्दै अगाडि भनेका छन्, ‘ओली सरकारले श्रमजीवि तथा उत्पीडित जनताको ढाड भाँचिनेगरी करवृद्धि गरेको छ । निर्मला पन्तलगायत दर्जनौं किशोरीहरूको बलात्कार गरी हत्या हुँदासमेत यो सरकार अपराधीलाई न्यायको कठघरामा उभ्याउनुको सट्टा उल्टै अपराधीलाई बचाउन अनेक प्रपञ्च गरिरहेको छ । दुई तिहाइको दम्भमा हुँइकिँदै गरेको यो मैमत्त फासिवादी सरकारले कमरेड प्रकाण्डलगायत पीबीएमहरू, सीसीएमहरू तथा सबै तहका नेता–कार्यकर्ताको गैरकानुनी तथा गैरन्यायिक गिरफ्तारीको विरुद्ध एवम् उहाँहरूको यथाशीघ्र स–सम्मान रिहाइको लागि यही असोज ७ गते, आइतबार उपत्यका बन्दको कार्यक्रम घोषणा गरेको छ । उक्त उपत्यक बन्द कार्यक्रमलाई सफल बनाउन उपत्यकाभित्र रहेका सम्पूर्ण राष्ट्रवादी कर्मचारी, शैक्षिक संस्था, उद्योग, कलकारखाना, यातायात क्षेत्रलगायत सम्पूर्ण वर्ग, क्षेत्र, पेसाका जनसमुदायलाई ओली–प्रचण्डको फासिवादी रवैयाका विरुद्ध तथा कमरेड प्रकाण्डलगायत नेता–कार्यकर्ताहरूको रिहाइको पक्षमा ऐक्यबद्धता जाहेर गर्न उपत्यका बन्द भव्य र शानदार रूपमा सफल पारिदिनहुन हार्दिक अपील गर्दछौँ ।’

प्रतिक्रियाहरु