आइएसमाथि भीषण कारबाही

२०७३ कार्तिक ८ गते, सोमबार

काठमाडौं, ८ कात्तिक । कुर्द सेनाले उत्तरी इराकको मोसुलनजिक बासिका शहरलाई कब्जामा लिएर बसेका इस्लामिक स्टेट आइएसमाथि भीषण कारबाही सुरु गरेको छ । एक राजमार्गलाई कब्जामा लिएर बसेका आइएसका कार्यकर्तालाई धपाउन कुर्द सेनाले कारबाही सुरु गरेको हो । कुर्द सेनाले राजमार्ग कब्जामा लिएर आइएसले गतिविधि बढाइरहेको ठहरसहित कारबाही सुरु गरेको जनाएको छ । आइएसविरुद्धको आक्रमणमा टर्कीका सेना पनि सहभागी छन् । कुर्द सेनाले बासिकामा आइएसका दर्जर्नौ लडाकु मारिएको दाबी गरेको छ । आठ वटा गाउँलाई घेराबन्दी गरेर सुरु गरिएको आक्रमणमा मोसुलमा सैन्य सहयोग गर्दै आएको आइएसको क्षमता ध्वस्त भएको छ ।
इराकमा अमेरिकी सेनाका मुख्य कमान्डर लेफ्टिनेन्ट जनरल स्टिफन टाउनसेन्डले बासिकामा सेनाले ठूलो सफलता पाएको बताएका छन् । उनले अझै पनि आइएसका सबै लडाकु मारिएको र सडक किनारामा राखिएका सबै बम हटाइएको बारे भने सबै जानकारी आउन नसकेको बताए । यो शहरमा पत्रकारहरुलाई जान दिइएको छैन । – एजेन्सी

प्रतिक्रियाहरु