अस्पतालको ‘शैया’मा ब्रह्मलुट !

२०७६ असार २८ गते, शनिबार

काठमाडौं, २८ असार । सरकारी तथा निजी अस्पतालले बिरामीका लागि अत्यावश्यक बेडमा समेत चर्को शुल्क लिँदै आएका छन् । ती अस्पतालहरूले बेड शुल्कबापत २ सय रुपैयाँँदेखि २५ हजार रुपैयाँसम्म असुल्ने गरेको पाइएको छ । मनपरी शुल्क असुल्दा पनि सरकारले ती अस्पतालको प्रभावकारी नियमन गर्न सकेको देखिँदैन । संविधानले समेत स्वास्थ्यलाई मौलिक अधिकारका रूपमा स्थापित गरेको छ । सरकारी अस्पताल त्रिवि शिक्षण अस्पतालले सामान्य बेडमा दैनिक २५०, आईसीयूमा १ हजार ३ सयदेखि १ हजार ५ सय रुपैयाँसम्म लिँदै आएको छ । यस्तै, शिक्षण अस्पतालमा सिंगल र डबल क्याबिनका लागि ७५० रुपैयाँ निर्धारण गरिएको छ ।
मुलुककै पुरानो सरकारी अस्पताल वीर अस्पतालले आईसीयूमा दैनिक ३ हजार रुपैयाँ लिने गरेको छ । राष्ट्रिय ट्रमा सेन्टरले जनरल बेडका लागि २५० रुपैयाँ र आईसीयूमा ३ हजार रुपैयाँ निर्धारण गरेको छ । यस्तै, सिभिल अस्पतालले सामान्य बेडका लागि २ सय रुपैयाँ लिने गरेको छ । आईसीयू चार्जस्वरूप २ हजार रुपैयाँ र क्याबिनका लागि ९सिंगल० ८ सय र ९डबल० २ हजार रुपैयाँ लिने गरेको छ ।
चाबहिलस्थित ओम अस्पतालले सामान्य बेडका लागि १ हजार रुपैयाँ तोकेको छ । आईसीयूमा भर्ना भएका बिरामीले ८ हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ । यस्तै, २ हजारदेखि १० हजार रुपैयाँसम्म क्याबिन शुल्क तोकिएको छ ।
धुम्बाराहीस्थित ह्याम्स अस्पतालले सामान्य बेडका लागि २ हजार ५ सय रुपैयाँ लिने गरेको छ । आईसीयूका लागि ११ हजार ५ सय रुपैयाँ तोकेको छ । क्याबिन बेडका लागि ४ हजार ५ सयदेखि २५ हजार रुपैयाँसम्म निर्धारण गरिएको छ ।
टोखास्थित ग्र्यान्डी अस्पतालले सामान्य बेड शीर्षकमा ३ हजार ६ सय रुपैयाँ लिँदै आएको छ । आईसीयूका लागि १४ हजार ७ सय रुपैयाँ र क्याबिनअन्तर्गत सिंगलको १० हजार ७ सय र डबलको ६ हजार ६५० निर्धारण गरेको छ । – प्रशान्त वली, राजधानी दैनिक

प्रतिक्रियाहरु