अस्थायी खर्च उपलब्ध गराउने विधेयक पारित

२०७४ माघ ९ गते, मंगलवार

काठमाडौं, ९ माघ । अमेरिकाका दुवै सदनले संघीय निकायहरू सञ्चालनका लागि अस्थायी रूपमा खर्च उपलब्ध गराउने सम्बन्धी विधेयक पारित गरेका छन्। बहुमतबाट पारित भएको उक्त विधेयकले संघीय सरकार सञ्चालनका लागि अर्को साढे दुई हप्तासम्म रकम उपलब्ध गराउँछ।
रिपब्लिकन र डेमोक्र्याट्सहरूले अस्थायी रुपमा रकम उपलब्ध गराउने उक्त विधेयक पारित गरेपछि बन्द रहेका सरकारी कार्यालयहरू मंगलवारबाट पुन: खुल्ने अपेक्षा गरिएको छ।
संघीय कार्यालयहरूमा कार्यरत बेतलबी बिदा बसेका हजारौँ कर्मचारीहरूले उक्त विधेयक पारित भएसँगै राहतको सास फेरेका छन्। राष्ट्रपति डोनल्ड ट्रम्पले संसद्बाट पारित भएको उक्त विधेयकमा हस्ताक्षर गरेपछि ८ फेब्रुअरीसम्म संघीय सरकारले आर्थिक अभाव विना नै कामकाज चलाउन सक्छ। तर त्यसपछि के हुन्छ त्यो भने अहिले स्पष्ट भएको छैन।
उक्त विधेयक पारित भएपछि राष्ट्रपति ट्रम्पले डेमोक्र्याट्सहरू अन्ततः आफ्नो होसमा आएको प्रतिक्रिया दिएका छन्। डेमोक्र्याट्सहरूले भने संघीय निकायलाई बजेट उपलब्ध गराउने विधेयकमा शर्तसहित सहमति जनाएका हुन्। उनीहरूले आप्रवासनसम्बन्धी समस्यालाई रिपब्लिकनहरूले सम्बोधन गर्ने शर्तमा यो विधेयकमा सहमति जनाएको बताएका छन्।

प्रतिक्रियाहरु