अवैध इँटा उद्योग कारबाहीमा पर्ने

२०७१ कार्तिक २५ गते, मंगलवार


काठमाडौँ । सर्लाही जिल्लामा तोकिएको मापदण्ड विपरीत सञ्चालित इँटा उद्योगमाथि कारबाही प्रक्रिया अगाडि बढाउन यहाँ अनुगमन एवम् छानबिन टोली गठन गरिएको छ ।प्रमुख जिल्ला अधिकारी मोहनबहादुर चापागाईंको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालयमा सोमबार दिउँसो बसेको सरोकारवाला निकायको बैठकले छानबिन एवम् अनुगमन टोली गठन गरेको हो । घरेलु तथा साना उद्योग कार्यालय सर्लाहीका प्रमुख मधुकरप्रसाद साहको संयोजकत्वमा गठित टोलीलाई स्थलगत अनुगमन एवम् छानबिन गरी १५ दिनभित्र प्रतिवेदन पेस गर्ने जिम्मा दिइएको प्रजिअ चापागाईंले बताए ।
“टोलीको प्रतिवेदनपश्चात् गैरकानुनी ढङ्गले सञ्चालन भइरहेका इँटा उद्योगमाथि कानुनबमोजिम कडा कारबाही प्रक्रिया अगाडि बढाइनेछ”–प्रजिअ चापागाईंले भने –“अनियमितताविरुद्ध कडाइ गर्न स्थानीय प्रशासनले कुनै कसर बाँकी राख्ने छैन ।”
टोलीमा जिल्ला प्रशासन कार्यालय, आन्तरिक राजस्व कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान कार्यालयबाट एक–एक अधिकृत, सर्लाही इँटा व्यवसायी सङ्घ र साना तथा मझौला इँटा व्यवसायी सङ्घबाट एक–एकजना प्रतिनिधि रहनेछन् ।
टोलीले मङ्गलबारदेखि नै स्थलगत अनुगमन एवम् छानबिन सुरु गर्ने संयोजक साहले बताए । सरकारले केही वर्षदेखि नयाँ उद्योग दर्तामा फिक्स (इँटा पकाउन कोइला प्रयोग एवम् धुवाँ निस्कने ढ्वाङ्गको उचाइ सय फिटभन्दा बढी हुनुपर्ने) प्रक्रिया सुरु गरेको छ भने पुराना जस्ताका चिम्नी (चदरा) उद्योगलाई समेत फिक्समा रुपान्तरण गर्नुपर्ने र सम्पूर्ण उद्योग मूल्य अभिवृद्धि कर (भ्याट)मा जानुपर्ने नियम बनाएको छ ।
घरेलु तथा साना उद्योग कार्यालयको अध्ययनअनुसार हाल सर्लाहीमा ७० वटा इँटा उद्योग रहेका छन् । जसमा ६६ वटाले मात्र अनुमति लिएका र चारवटा भने अनुमतिबिना नै सञ्चालनमा रहेको बताइएको छ । दर्ता भएकामध्ये २५ वटा उद्योगले मात्र मापदण्ड पूरा गरेको र बाँकी सबै गैरकानुनी रहेको देखिएको साहले जानकारी दिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु