‘अल हाशेमी’ आइएसको नेता

२०७६ कार्तिक १५ गते, शुक्रबार

काठमाडौँ , १५ कार्तिक । जिहादी समूह इस्लामिक स्टेट (आइएस)ले आफ्ना नेता अबु बकर अल-बग्दादीको मृत्यु भएको पुष्टि गरेको छ । बग्दादीको मृत्युसँगै आइएसले अबु इब्राहिम अल–हाशेमी अल कुराशीलाई नयाँ नेता चयन गरेको जनाएको छ । सिरियामा अमेरिकी सेनाको विशेष फौजले कारबाही गरेपछि गएको शनिबार अल बग्दादीले आत्मघाती विस्फोट गराएर आफ्नै ज्यान लिएका थिए ।
त्यसको लगत्तै गरिएको अर्को एक छुट्टै कारबाहीमा उक्त समूहका प्रवक्ता अबु अल-हसन अल-मुजाहिर पनि मारिएका आइएसले बिहीबार पुष्टि गरेको छ । अल मुजाहिरलाई बग्दादीको उत्तराधिकारीकारुपमा हेरिएको थियो । उनको पनि मृत्यु भएपछि चरमपन्थी समूहले अल हाशेमीलाई नयाँ नेता चयन गरेको हो । आइएसले नयाँ नेता हाशेमीलाई ‘क्यालिफ’ अर्थात् स्वघोषित ईश्वरबाट शासित व्यवस्थाको नयाँ शासक घोषणा गरेको हो । आइएसले आफ्ना नयाँ नेता हाशेमीकाबारेमा धेरै जानकारी दिएको छैन । उनको कुनै तस्वीर पनि सार्वजनिक गरेको छैन । -एजेन्सी

प्रतिक्रियाहरु