अल्जेरियाको विमान दुर्घटना भएको पुष्टी

२०७१ श्रावण ९ गते, शुक्रबार


काठमाडौ, ९ साउन । अल्जेरियाको राष्ट्रिय वायुसेवा एयर अल्जेरिइको विमान दुर्घटनामा परेको पुष्टी भएको छ ।विमान बुर्किना फासोको सीमाबाट ५० किलोमिटर टाढा पर्ने मालीको भूभागमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको बिबिसीले जनाएको छ ।
बुर्किना फासोको राजधानी औगादोउगुबाट अल्जेरियाको राजधानी अल्जियर्सका लागि उडेको विमानमा एकसय १० जना यात्रु र ६ जना चालक दलका सदस्य थिए । उडेको ५० मिनेटमा एयर ट्राफिक कन्ट्रोलरसंग विमानका चालकले ठूलो आँधीबेहरी आएको र रुट परिवर्तन गर्न लागेको सूचना गराए लगत्तै विमान सम्पर्कविहीन भएको थियो ।
मालीको सरकारी टेलिभिजनले बौलीकेस्सी गाउँमा दुर्घटनाग्रस्त विमान फेला परेको पुष्टी गरेको समाचार संस्था एपीले जनाएको छ । बुर्किना फासोका सैन्य जनरल गिल्बर्ट डियन्डेयरले स्थानीय बासिन्दाको जानकारीका आधारमा खोजी गर्दा यात्रु र विमानका अवशेष जलेका र यत्रतत्र फैलिएका अवस्थामा फेला परेको बताउनुभयो ।
विमानमा सबैभन्दा धेरै ५१ जना फ्रान्सेली नागरिक थिए । यस्तै बुर्किना फासोका २७, लेबनानका ८, अल्जेरियाका ६, क्यानडाका ५, जर्मनीका ४, लक्जेम्बर्गका २ तथा क्यामरुन, बेल्जियम, ईजिप्ट, युक्रेन, स्वीटजरल्याण्ड, नाइजेरिया र मालीका एक÷एक जना यात्रु रहेका बुर्किना फासोका अधिकारीले जनाएका छन् । चालक दलका ६ जना सदस्य स्पेनी हुन् ।

प्रतिक्रियाहरु